
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि विभागले केन्द्रिकृत एसएमएस गेटवे सेवा सुरु गरेको छ ।
बुधबार मन्त्रालयमा गरिएको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केन्द्रिकृत एसएमएस गेटवे सेवा शुभारम्भ भएको घोषणा गर्नुभएको हो ।
उहाँले अहिलेको युग सूचना र प्रविधिको युग भएकाले प्रविधिसँग लक्षित वर्गलाई जोड्न सेवा थालिएको बताउनुभयो ।
मन्त्री कार्कीले यसको कार्यान्वयनमा पनि सरकारले ध्यान दिने बताउनुभयो । उहाँले सरकारले सकेसम्म जनतालाई प्रविधिसँग जोडेर सेवा दिनुपर्ने बताउनुभयो ।
मन्त्री कार्कीले एसएमएस गेटवे सेवा शुरु भएको दुई, तीन महिनाभित्रबाट जनता कति लाभान्वित हुन्छन् भन्ने कुराको लेखाजोखा गरिने बताउनुभयो ।
कुनै पनि सरकारी निकायले सूचना प्रविधि विभागको पूर्वाधार प्रयोग गरी दूरसञ्चार प्रदायकमार्फत् सेवाग्राहीलाई एसएमएस पठाउने प्रणाली नै एसएमएस गेटवे हो । यसबाट सम्बन्धित निकायले आफ्ना सेवाग्राहीलाई सस्तो दरमा सूचना वा जानकारी पठाउन सक्छन् ।
सेवाग्राहीले पनि सम्वद्ध सरकारी निकायलाई एसएमएस पठाउँदा लाग्ने शुल्क सस्तो हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्