२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


अमेरिकाले सिञ्चियाङमा निर्मित सामान नलिने


299
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनको सिञ्चियाङ प्रान्तमा निर्मिति सामग्री आयातमा प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर गरेकाे छ । चीन र अमेरिकाबीच तनाव बढिरहेको बेला बाइडेनले चीनलाई थप चिढाउने गरी नयाँ कानुनलाई अनुमति दिएका हुन् ।

सिञ्चियाङ प्रान्तका मुश्लिम अल्पसंख्यकमाथि चीनले अत्याचार गरेको र त्यहाँ जबरजस्ती श्रम गर्न बाध्य बनाइएको भन्दै अमेरिकाले सो प्रान्तमा निर्मित कुनै पनि सामग्री अमेरिका आयात गर्न बन्देज लगाएको हो ।

अमेरिकी संसद दुवै सदन प्रतिनिधिसभा र सिनेटबाट पारित उक्त कानुनमा राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेका हुन् । सिञ्चियाङबाट ठूलो परिमाणमा सूति र प्यानल निर्यात हुने गर्दछ ।

संयुक्त राष्ट्रसंघीय विशेषज्ञ तथा अन्य अधिकारकर्मीहरुले सिञ्चियाङका क्याम्पहरुमा दश लाख भन्दा बढी उइगुर तथा अन्य अल्पसंख्यक मुश्लिमहरुलाई बन्दी बनाइएको र उनीहरुलाई जबर्जस्ती श्रममा लगाउने गरिएको दाबी गर्दै आएका छन् ।

चीनले भने अमेरिकी कदमप्रति तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । यद्यपी चीनले पश्चिमा देशहरु तथा अधिकारवादी संस्थाहरुले चीनमाथि मानवअधिकारको नाममा घृणित व्यवहार देखाउने गरेको बताउँदै आएको छ ।