२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


गृहमा एक चौथाइ कर्मचारी अभाव


169
Shares

काठमाडौं । गृह मन्त्रालय र मातहतका निकाय कर्मचारी अभावको चर्को मारमा परेका छन्। ती निकायमा करिब एक चौथाइ कर्मचारी अभाव भएको बताइएको छ। कर्मचारी अभावका कारण गृहबाट प्रदान हुँदै आएका सेवा प्रवाहमा ढिलासुस्ती हुन थालेको छ।त्यसको प्रत्यक्ष मारमा सेवाग्राही परेका छन्।

कर्मचारी अभाव पूरा गर्न गृहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पटकपटक ध्यानाकर्षण गराइसकेको छ। तर सो मन्त्रालयले कर्मचारी पठाउन नसकेको गृहका उच्च अधिकारीहरू बताउँछन्। गृह स्रोतका अनुसार खासगरी शाखा अधिकृत र नायब सुब्बासरहका कर्मचारीको अभाव देशभर खड्किएको छ।

संगठन तथा व्यवस्थापन सर्भेअनुसार देशभर गृह र मातहतका निकायमा कार्यालय सहयोगीदेखि सचिवसम्म ४ हजार ५ सय दरबन्दी छन्। कुल दरबन्दीमध्ये १ हजार २ सयभन्दा बढी दरबन्दी रिक्त रहेको गृह स्रोतको भनाइ छ। मन्त्रालयका अनुसार शाखा अधिकृत तहका कर्मचारीका दरबन्दी ५ सय ३९ छन्। तीमध्ये १ सय २० दरबन्दी रिक्त रहेको जनाइएको छ। यसैगरी १ हजार ८ सय नायब सुब्बासरहका दरबन्दीमध्ये करिब ३ सय रिक्त छन्।

नागरिक