२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


हुम्लामा तीन फिट हिउँ जम्याे


221
Shares

काठमाडौं । हुम्लामा तीन फिटसम्मको हिमपात भएको छ । जसका कारण हुम्लाकाे जनजीवन प्रभावित भएकाे छ । चिसाे बढेसँगै उच्च हिमाली जिल्लाहरुमा जनजीवन प्रभावित भएको छ।

हुम्ला सदरमुकाम सिमकोटमा एक इन्चभन्दा बढी हिउँ जमिसकेको छ भने जिल्लाको उत्तरी भेगमा नाम्खा गाउँपालिकामा भने सदरमुकाम सिमकोटभन्दा बढी तिन फिट जति हिउँ जमेको छ । नाम्खा गाउँपालिकाको उच्च भेग यारी लिमी नारा न्यालु लेकमा बाक्लो हिउँ जम्नुका साथै आवतजावतमा समेत थप कठिनाइ भइरहेको छ। त्यस्तै, मुगु, डोल्पालगायतका हिमाली जिल्लाहरु पनि हिमपातले जनजीवन प्रभावित भएकाे छ ।

हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा, नारा, न्यालु लगायतमा आवतजावतमा थप कठिनाइ भएको हो । एक गाउँबाट अर्को गाउँसम्मको आवतजावत रोकिएको छ। उत्तरी नाम्खा गाउँपालिकामा जिल्ला सदरमुकाम भन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । यहाँको तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ ।

हिमपात हुँदा जिल्लाका दक्षिण क्षेत्रका किसानलाई फाइदा पुगेको छ । हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो हुने भएको छ । यस पटकको हिमपातले जेठासी बालीलाई राम्रो गर्ने बताइएकाे छ । शुक्रबार साँझ देखि जिल्लाको मौसममा फेरवदल भएसँगै शनिबार बिहानदेखि हिमपात पर्न सुरु भएकाे हाे ।