१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देउवालाई दाहालको प्रस्ताव : ओलीजी आउनुभएन, हामी नै बालकोट जाऊँ


9.152k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि बालकोट जान प्रस्ताव गनुभएको छ ।

सम्पादकहरूसँगको छलफलको क्रममा अध्यक्ष दाहालले एमसीसी र संसदको अवरोधको सन्दर्भमा छलफल गर्न बोलाइएको बैठकमा ओली नआएपछि आफूहरू नै ओलीनिवास बालकोट जान प्रस्ताव गरेको बताउनुभयो ।

‘पटक–पटक प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा प्रतिपक्ष दल नआउने अवस्था आएपछि मैले प्रधानमन्त्रीज्यूलाई भनें, प्रधानमन्त्रीज्यू उहाँ आउनुभएन, उहाँ त्यस्तै हुनुहुन्छ, अब तपाईं र म नै बालकोट जाऊँ’ अध्यक्ष दाहालले भन्नुभयो, ‘सदन रोक्दिन भएन भनौं र अन्य विषयमा पनि छलफल गरौं भनेकोमा उहाँले महाधिवेशन पछि भन्नुभएको थियो ।’

आफूहरूको राष्ट्रिय सम्मेलनपछि ओली बालुवाटार वा सिंहदरबार नआए आफूहरू बालकोट जाने अध्यक्ष दाहालले बताउनुभयो । देश, जनता, प्रणाली र जनताप्रति जिम्मेवार भएका मानिसले जिम्मा लिनुपर्ने भएकाले आफूहरु नै जाने सोच बनाएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको दुईपटकको सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली सहभागी हुनुभएको थिएन । माधवकुमार नेपालको दल नेकपा एकीकृत समाजवादीलाई आफूहरुले राजनीतिक दल नमानेको एमालेले बताउँदै आएको छ ।