
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष क्लबहरु म्यान्चेस्टर सिटी, चेल्सी, आर्सनल र टोटनह्याम हट्सपरले सहज जित निकालेका छन् ।
गएराति भएको खेलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई ६–३ ले पराजित गरेको हो । म्यान्चेस्टर सिटीका लागि राहिम स्टर्लीङले दुई गोल गर्दा केभिन डे ब्रायन, रियाद माहारेज, इके गुन्डोगान र आयमेरिक लापोर्तेले एक एक गोल गरे । लेष्टर सिटीका म्याडिसन, लुकम्यान र इहिनाचोले एक एक गोल फर्काए ।
गएराति भएको अर्को खेलमा चेल्सीले एस्टन भिल्लामाथि ३–१ को जित निकाल्यो । चेल्सीका जर्गिनोले दुई तथा रोमेलु लुकाकुले एक गोल गर्दा चेल्सीकै जेम्सले एक आत्माघाति गोल गरेका थिए ।
प्रिमियर लिगकै अर्को खेलमा आर्सनलले नरिच सिटीलाई ५–० ले पाखा लगायो । आर्सनलको जितमा बकायो साकाले दुई गोल गरेभने किरण टिएर्नी, अलेक्जेण्डर लाकाजेट् र एमिले स्मीथ रोवेले एक एक गोल थपे ।
यसैगरी, टोटनह्याम हट्सपरले क्रिष्टल प्यालेसलाई ३–० ले हराउँदा साउथह्याप्टनले वेष्ट ह्याम युनाइटेडलाई ३–२ ले तथा ब्राइटनले ब्रेन्टफोर्डलाई २–० ले पराजित गरे ।
लिभरपुल र लिड्स युनाइटेड, वुल्भरह्याम्पटन र वाट्फोर्ड तथा बर्न्ले र एभर्टनबिचको खेल भने कोभिडका कारण पोस्टपोन्ड गर्नुपर्यो ।
गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा म्यान्चेस्टर सिटीले ६ अंकको अग्रता लिएको छ । १९ खेलबाट सिटीको ४७ अंक भएको छ । एक खेल कम खेलेको लिभरपुल र १९ खेल खेलेको चेल्सीको समान ४१ अंक छ । ३५ अंक जोडेको आर्सनल चौथो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्