३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


मह उत्पादन घटेपछि कृषक चिन्तित


104
Shares

नवलपुर । पछिल्ला तीन वर्षयता मह उत्पादन घट्न थालेपछि नवलपुरका मौरीपालक कृषक चिन्तित भएका छन् । मह राम्रो उत्पादन हुने समयमा नै मह उत्पादनमा ह्रास आउन थालेपछि उनीहरु मर्कामा परेका हुन् ।

मह उत्पादनमा कमी आउन थालेपछि नवलपुरका मौरीपालक कृषक चिन्तित भएका छन् । मह राम्रो उत्पादन हुने समयमा नै मह उत्पादनमा ह्रास आएपछि मर्कामा परेको उनीहरुको गुनासो छ । विगत तीन वर्षयता मह उत्पादनमा पचास प्रतिशतले ह्रास आएको नेपाल मौरी पालक किसान महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष चण्डिका लामिछानको भनाइ छ ।

पहिले खेती लगाउँदा एउटै सिजनमा धेरैथरीका बाली लगाउने प्रचलन थियो । गहुँमा तोरी छर्ने, तोरीसँगै मसुरो छर्ने तथा आलससँगै तोरी पनि छरिन्थ्यो । जसले गर्दा फूल फुल्ने समय फरक फरक हुन्थ्यो । मौरीले लामो समयसम्म फूलको रस पाउँथे र मह पनि उत्पादन राम्रो थियो । तर अहिले आधुनिक उपकरणको प्रयोगसँगै विषादीका कारण मह उत्पादनमा ह्रास आएको लामिछाने बताउँनुहुन्छ ।

विगत २५ वर्षदेखि देवचुली– ९ विशालटारमा मौरीपालन व्यवसाय गर्दै आउनुभएका राजेन्द्र रावलले एउटा घारबाट सुरु गरेको व्यवसाय अहिले एक सय घार पुगेको छ । सुरुआतका दिनमा ४० देखि ६० केजीसम्म एउटा घारबाट मह उत्पादन हुने गरेकोमा केही वर्षयता मह उत्पादनमा ह्रास हुँदै गएको रावल बताउँनुहुन्छ ।

नवलपुरमा मात्रै करीब २ सय कृषक मौरीपालनमा लागेका छन् । थोरै लगानी र मिहेनतमा काम गर्न सकिने भएकाले पनि यस व्यवसायमा कृषकको आकर्षण बढेको छ । तर विभिन्न समस्याबाट मौरीपालक कृषक गुज्रनु परेको नेपाल मौरीपालक महासंघ नवलपुरका अध्यक्ष यदुनाथ कंडेलले बताउनुभयो । स्थानीय तह र प्रदेशले मौरी पालकलाई सहयोग गरेको भए पनि उत्पादनमा कमी हुँदा समस्या भएको कंडेल बताउँनुहुन्छ ।

कोभिड महामारीपछि महको माग बढेकाले बजारको माग धान्न नसकिएको कृषक बताउँछन् । नीतिगत रुपमा चरिचरणको उचित व्यवस्थापन, बालीमा विविधीकरण, वास्तविक किसानमुखी अनुदान, सहुलियत, विमा र जनचेतनाका कार्यक्रम सरकारबाट हुन सकेमा मात्रै मौरीपालक कृषक लाभान्वित हुनुका साथै महको उत्पादनमा पनि वृद्धि गर्न सकिने कृषकको भनाइ छ ।