
काठमाडौं । काठमाडौं, सर्लाही र पाल्पामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचोकमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
पहेँलो पुलबाट शिवचोकतर्फ जाँदै गरेको बाग्मती प्रदेश–०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल गएराती करिब १२ बजे पल्टिँदा थली बस्ने सिन्धुपाल्चोकको बाह्रबिसेका २७ वर्षीय राजमान तामाङको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–७ केशरीमार्गमा गएराती ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराती नौ बजे ना ४३ प ५०१८ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा सरकारी नम्बरको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक अन्दाजी ३२ वर्षीय पुरुष रहेको मृत्यु भएको हो ।
मलंगवा स्थित जिल्ला अस्पतालमा उपचारको क्रममा गएराती सवा १० बजे उनको मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।
पाल्पाको तिनाउ गाउँपालिका–३ अर्घाछापमा हिजो साँझ पौने ७ बजे नम्बर खुल्न नसकेको सवारी साधनको ठक्करबाट मोटरसाइकलका चालकको मृत्यु भएको छ ।
नम्बर खुल्न नसकेको सवारी साधनको ठक्करबाट लु ४९ प २०७७ नम्बरको मोटरसाइकलका चालक रुपन्देहीको तिलोत्तमाका ३८ वर्षीय टिका रानाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा रानाको हिजो बेलुकी सवा ८ बजे मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न रहेको आशंकामा एउटा बस र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी चौकी दोभानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्