
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई कडाई गर्न मार्गदर्शन बनाएको छ । राष्ट्र बैंकले कर्जासम्बन्धी मार्गदर्शन २०७८ को मस्यौदा सार्वजनिक गर्दै आवश्यक रायसुझाव दिन सरोकारवाला आग्रह पनि गरेको छ । विशेषगरी चालू पुँजी कर्जालाई नियन्त्रण तथा व्यवस्थित गर्ने उद्देश्यले मार्गदर्शन लागू गर्न लागिएको हो ।
बैंकहरूले यस्तो प्रकारको कर्जा आफूखुशी प्रवाह गर्दै आएका छन् । पछिल्लो समय यस्तो कर्जा प्रवाह उल्लेख्य रूपमा बढ्दै गएको छ । फलस्वरूप यसलाई आवश्यक नियन्त्रण गर्न देखिएपछि मागदर्शन नै जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका प्रवक्ता डा.गुणकर भट्टले चालू पुँजी कर्जालाई व्यवस्थित गर्ने गरी मार्गदर्शन बनाएको बताए । अब सरोकारबाट आएका सुझावहरूको आधारमा मार्गदर्शनको मस्यौदालाई आवश्यक संशोधन गरेर लागू गरिने उहाँको भनाइ छ ।
राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धमा लागू गर्न लागेको यो पहिलो मार्गदर्शन हो । राष्ट्र बैंकले यसमा १ करोड र १ करोड रुपैयाँभन्दा बढी सीमा हुने गरी यस्तो कर्जा प्रवाह गर्न सकिने प्रस्ताव गरेको छ । १ करोड रुपैयाँभन्दा कम कर्जाको अवधि १ वर्षको मात्रा हुनेछ । १ करोडभन्दा बढी प्रवाह भएको कर्जा भने वार्षिक रूपमा नवीकरण गर्न सकिनेछ ।
मस्यौदाअनुसार १ करोड वा त्यसभन्दा कम रकमको हकमा ऋणीको वार्षिक अनुमानित कारोबारको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र सीमा कायम गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्