१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माओवादी केन्द्र : अध्यक्ष दाहालद्वारा राजनीतिक दस्तावेज प्रस्तुत, २५ समूहमा छलफल हुने


65
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दस्तावेज प्रस्तुत गर्नुभएको छ ।

सोमबारदेखि सुरु भएको बन्दसत्रमा अध्यक्ष दाहालले राजनीतिक तथा वैचारिक दस्तावेज प्रस्तुत गर्नुभएको छ ।

त्यसैगरी नेता देव गुरुङले पार्टीको विधान मस्यौता प्रस्तुत गर्नुभएको छ । प्रस्तुत दस्तावेजमाथि छलफल गर्नका लागि २५ वटा समूह विभाजन गरिएको छ । मंगलबारदेखि समूहगत छलफल सुरु हुने भएको छ ।

दस्तावेजमाथि समूहगत छलफल गरी सुझाव प्रस्तुत गर्न २५ समूहका संयोजकहरू तोकिएका छन् । जसअनुसार ज्येष्ठ कम्युनिस्ट मञ्च समूहको संयोजकमा एमके प्रसाईंलाई तोकिएको छ । सल्लाहकार समितिको दुईवटा समूह बनाइएको छ र संयोजकमा नन्दकुमार थापा तोकिनुभएकाे छ ।

त्यस्तै सातवटा भौगोलिक प्रदेशको पनि दुई-दुई वटा समूह बनाइएको छ । प्रदेश १ समूहको संयोजकमा हर्क नेम्वाङ, प्रदेश २ को संयोजकमा गणेश शाह, बागमतीकाे संयोजकमा सरल सहयात्री पौडेल, गण्डकीको संयोजकमा गायत्री गुरुङ, लुम्बिनीको संयोजकमा चक्रपाणि खनाल, कर्णालीको संयोजकमा विमला केसी र सुदूरपश्चिमको संयोजकमा खगराज भट्ट संयोजक तोकिएका छन् ।

प्रवास समितिको समूह संयोजकमा लक्ष्मण पन्त, केन्द्रीय विभागहरुको दुई समूह बनाई संयोजकमा मायाप्रसाद शर्मा तोकिएका छन् । विशेष प्रदेश समूह संयोजकमा जगत शिंखडाले जिम्मेवारी पाउनुभएको छ ।

सम्पर्क समन्वय प्रदेश समूहको संयोजकमा श्रीकृष्ण अधिकारी, पार्टीका सबै आयोगहरूको एक समूह बनाइ संयोजकमा विष्णुविकास श्रेष्ठ संयोजक तोकिएका छन् । जनवर्गीय मोर्चाहरुको समूह बनाई त्यसको अमृता थापालाई संयोजकको जिम्मेवारी दिइएको छ ।

अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको दस्तावेजमा नेपाली मौलिकता र विशेषतासहितको नेपाली पुँजिवादी क्रान्ति सम्पन्न भएको र नेपाली मौलिकता र विशेषताको समाजवाद प्राप्तिका लागि अघि बढ्ने कुरा उल्लेख भएको नेता शक्ति बस्नेतले जानकारी दिनुभयो ।

समाजवाद प्राप्तिको बाटो र प्रक्रिया पनि आफ्नै प्रकारको हुने मुल विषयवस्तु दस्तावेजमा रहेको उहाँको भनाइ छ ।

आइतबारदेखि सुरु भएको माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन पाँच दिनसम्म चल्नेछ ।