१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


माओवादीको महाधिवेशनः प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि २५ समूहमा छलफल हुँदै


117
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा आजबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ । यसको लागि महाधिवेशन प्रतिनिधिलाई २५ समुहमा विभाजन गरिएको छ ।

प्रदेश अनुसार विभाजन गरिएका यी समुहको छलफल प्रज्ञा भवनका विभिन्न हल एवं पार्टी मुख्यालय पेरिस डाँडामा हुनेछ । माओवादी महाधिवेशनको दोस्रो दिन हिजो दाहालले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको ४५ पृष्ठको वैचारिक एवं राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो ।

प्रतिवेदनमा समान विचार राख्ने वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने आगामी कार्यदिशा अपनाइने उल्लेख छ । यस्तै वैचारिक अस्पष्टता हुँदा नेपालमा कम्युनिष्ट आन्दोलनलाई क्षती पुगेको दाहालको ठम्याई छ ।

दाहालले पार्टी शान्ति प्रक्रियामा आएपछि आफूले मुख्य रुपमा तीन वटा गल्ती गरेको स्वीकार्दै आत्मसमीक्षा गर्नु भएको छ । पालुङटारमा भएको पार्टीको विस्तारित बैठकपछि मुखमा चुनाव, मनमा विद्रोहको नीति लिनुलाई उहाँले पहिलो गल्ती ठान्नु भएको छ । सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नु, प्रचण्डपथलाई हठात् स्थगित गर्नुलाई पनि दाहालले आफ्नो गल्ती ठम्याउनु भएको छ ।