
सुर्खेत । गत असोज र कात्तिकको बेमौसमी वर्षाबाट पीडित सुर्खेतका कृषकहरुले अझै राहत पाउन सकेका छैनन् । सरकारले राहत दिनका लागि क्षतिको विवरण संकलन गरेको दुई महिना बिते पनि कृषक अझै पर्खाइमा छन् ।
सुर्खेतमा बेमौसमी वर्षाका कारण धान बाली क्षति भएका कृषकले अझै राहत पाउन सकेका छैनन् । गत असोजको अन्तिमदेखि कात्तिक पहिलो सातासम्म परेको अविरल वर्षाका कारण धान बालीमा क्षति पु¥याएको थियो । बालीको विवरण संकलन गरी क्षतिको आधारमा संघिय र प्रदेश सरकारले तत्काल राहत उपलब्ध गराउने भनिएको थियो । वडा कार्यालय, स्थानीय पालिका, प्रदेश निर्देशनालय, मन्त्रालय हुँदै क्षतिको विवरण संघीय मन्त्रालयमा गइ सकेपनि कृषकलाई राहत कहिले दिने भन्ने टुंगो छैन । सरकारले निर्णय कार्यान्वयन गर्न ढिलासुस्ती गर्दा कृषक चिन्तित भएका छन् ।
कृषि विकास निर्देशनालय सुर्खेतले जिल्लाबाट उपलब्ध विवरण प्रदेशको भुमि व्यवस्था, कृिष तथा सहकारी मन्त्रालयमा पठाएको छ । राहत वितरण गर्ने बारे अझै टुङ्गो लागेको छैन । आठ जिल्लामा धान नोक्सानी भएको तथ्याङ्क संकलन भएको छ । प्रदेशभरको विवरण मन्त्रालयमा पुगेपछि मात्र कृषकले क्षतिको आधारमा राहत पाउने छन् ।
यता कृषकले आफूहरुले वर्षभरी खाने धान वर्षाले नष्ट पारेको उता साहुले पैसा मागिरहेको बताएका छन् । धेरै जसो धान वर्षाका कारण कुहिएको र बाँकी रहेको धान पनि खान नमिल्ले कृषकको भनाइ छ । वडा कार्यालयमा निवेदन दिँदा पनि राहत पाउन ढिलाइ भएको उनीहरुको गुनासो छ ।
स्थानीय कृषकले काटेको करिव ९० प्रतिशत धान क्षति भएकाले राहत प्रक्रिया छिटो हुनुपर्ने वीरेन्द्रनगर– ९ का वडा अध्यक्ष सुरेश मानन्धरले बताउनु भयो । कर्णालीमा ३८ हजार पाँच सय २७ हेक्टर क्षेत्रफलमा धान खेती हुुँदै आएको छ । प्रदेशमा सरदर ८९ हजार मेट्रिक टन धान उत्पादन हुुन्छ । यसपटक बेमौसममा परेको पानीले प्रदेशमा १२ प्रतिशत धान बालीमा नोक्सानी पुगेको निर्देशनालयको तथ्याङ्क छ ।
प्रतिक्रिया दिनुहोस्