
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक पुबुदु दासानायके काठमाडौं आइपुगेका छन् ।
दोस्रोपटक राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक भएसँगै दासानायके पहिलोपटक नेपाल आएका हुन् । उनलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
क्यानको मंसिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रूपमा पुबुदुलाई अनुमोदन गरेको थियो । त्यसअघि क्यानको प्रशिक्षक छनोट समितिले दासानायकेलाई मुख्य प्रशिक्षक नियुक्तका लागि सिफारिस गरेको थियो ।
यस अघि दासानायके सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको रूपमा रहेका थिए । उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–ट्वान्टी विश्वकप खेलेको थियो ।
उनी तीन वर्षअघि एभरेस्ट प्रिमियर लिग (इपिएल) टिम भैरहवा ग्लाडिएर्टसका प्रशिक्षक नियुक्त भएका थिए । सन् २०११ मा नेपालको प्रशिक्षक नियुक्त हुनुअघि पुबुदु क्यानडाका प्रशिक्षक थिए । उनको प्रशिक्षणमा क्यानडाले सन् २०११ को एकदिवसीय विश्वकप खेलेको थियो ।
मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षकविहीन बनेको थियो ।
प्रतिक्रिया दिनुहोस्