
काठमाडौं । तीन दशक बढी पार्टीको नेतृत्व सम्हाल्दै आउनुभएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौं राष्ट्रिय महाधिवेशनबाट पनि सहजै नेतृत्व लिने देखिन्छ ।
उद्घाटनसत्रमा प्रचण्डले शान्ति प्रक्रियामा आएपछि आफूले केही गल्ती गरेको स्वीकार गर्नुभयो । कतिपयले यसलाई नेता कार्यकर्ता रिझाएर सहज रूपले नेतृत्वमा बस्न खोजेको रणनीतिको रूपमा लिएका छन् भने केहीले अझै पनि प्रचण्डको विकल्प नभएको बताउँछन् ।
काठमाडौंमा जारी नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी शान्ति प्रक्रियामा आएपछि आफूले केही गल्ती गरेको भन्दै आत्मसमीक्षा गर्नुभयो ।
संविधानसभाको चुनाव भनेर मनमा विद्रोहको आकांक्षा पाल्नु, सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नु, प्रचण्डपथ हठात् स्थगित गर्नुलाई आफ्नो गल्ती ठम्याउनुभएका प्रचण्डले एमालेसँगको एकतापछि ओली प्रवृत्तिलाई आफ्नो षड्यन्त्रको जाल बुन्न अनावश्यक अवसर दिएको ठहर गर्नुभयो ।
प्रचण्डको सोही आत्मसमीक्षालाई सहज ढंगले पुनः नेतृत्वमै बस्ने रणनीतिका रूपमा विश्लेषण हुन थालेको छ । तर उहाँ निकट नेता, कार्यकर्ताहरू भने प्रचण्डको आत्मसमीक्षालाई आजको अपरिहार्यताका रूपमा लिएका छन् ।
प्रचण्ड जनसेनाका सुप्रिम कमाण्डर, पार्टी अध्यक्ष पनि हुनुभयो । यसले पार्टीमा उहाँको हालिमुहाली नै छ । त्यो शक्तिलाई प्रचण्डले आफ्नो पद जोगाउन राम्रोसँग उपयोग गर्नुभयो । पार्टीले निर्णय गर्छ । नगरेका निर्णयहरू अध्यक्षलाई जिम्मा लगाइन्छ ।
प्रचण्डलाई पार्टीभित्र चुनौति दिने नेताहरू सबै बाहिरिइसकेका छन् । माओवादीभित्रका सबैले पार्टी सुम्पिदिएपछि महाधिवेशनपछि पनि प्रचण्ड नै अध्यक्ष बन्ने कुरा अब आश्यर्चको विषय रहेन ।
प्रतिक्रिया दिनुहोस्