१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


म्यानमारको कायाह प्रान्तमा सेनाद्वारा मारिएका ३५ जनाको शव भेटियो

आफ्ना दुई कर्मचारी मारिएको सेभ द चिल्ड्रेनको दावी

494
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय परोपकारी संस्था सेभ द चिल्ड्रेनले म्यानमारको कायह राज्यमा जलेको अवस्थामा फेला परेका ३५ शवमध्ये २ वटा शव आफ्ना कर्मचारीको भएको पुष्टी गरेको छ । सेभ द चिल्ड्रेनले म्यानमारको ज्यादती रोक्न र कडा कारबाही गर्न संयुक्त राष्ट्र संघ सुरक्षा परिषदलाई गुहारेको छ ।

सेभ द चिल्ड्रेनले आफना कर्मचारीहरु सवार कारबाट सेनाले जवरजस्ती आफ्ना कर्मचारीलाई निकालेर केहीलाई गिरफ्तार गरेको र केहीको हत्या गरी शव जलाएको दाबी गर्दै घटनामा संलग्नहरुलाई कडा कारबाही गर्न राष्ट्रसंघीय सुरक्षा परिषदलाई आग्रह गरेको हो । हत्या गरिएका दुबैजना बालबालिकाको शिक्षाका बिषयमा काम गरिरहेका कर्मचारीहरु रहेको जनाइएको छ ।

म्यानमारको सेनाले भने उक्त आरोपको खण्डन गरेको छ । उता, अमेरिकी बिदेशमन्त्री एन्टोनी ब्लिेन्केनले घटनाका लागि म्यानमारको सेना जवाफदेही हुनुपर्ने भन्दै म्यानमारलाई हतियार बिक्रीमा प्रतिबन्ध लगाउनु पर्ने बताउनुभएको छ ।

गत बर्षको फेब्रुअरीमा सेनाले म्यानमारको सत्ता कब्जा गरेपछि सेना बिरुद्ध ब्यापक प्रदर्शन जारी रहेकै बेला सेनाको ज्यादती बढ्दै गएको छ । केही दिन अघि मात्रै कायह राज्यमा ३५ वटा शव जलेको अवस्थामा फेला परेका थिए । जसमा बालबालिका र महिलाहरुको संख्या अत्यधिक थियो ।