२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा वर्षासँगै हिमपात

राजमार्गहरु अवरुद्ध, जनजीवन कष्टकर

117
Shares

काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा वर्षासँगै हिमपात भइरहेको छ । गए रातीदेखि सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात शुरु भएको हो ।

बैतडीको अनारखोली, खोड्पे, अनारखोली , सतबाँझ श्रीभावर,गाँजरी,बाजपानी,ढोल्यामोड,देहिमाडौं लगायतका ठाउँहरुमा भएको हो । हिमपातका कारण यहाँका राजमार्गसमेत बन्द भएका छन् । अनारखोली, भालुमारे खोडपे क्षेत्रमा परेको हिमपातका कारण दशरथचन्द राजमार्गमा गाडी चल्न सकेका छैनन्।

यस्तै बाजपानी, ढोल्यामोड, खोडपे क्षेत्रमा परेका हिउँका कारण जयपृथ्वी राजमार्गमा पनि सवारी आवगमन हुन नसकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । उहाँकाअनुसार अझै पनि हिउँ पर्ने क्रम जारी रहेको छ, यातायातका साधन चल्न सकेका छैनन् ।

त्यस्तै, डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको हगुल्टे, बैतडीको अनारखोली, खोड्पे, सतबाँझ, श्रीभाबर, बज्रपानीलगायतका क्षेत्रमा भारी हिमपात भईरहेको हो । हिमपातका कारण डडेल्धुराको हगुल्टेमा यातायात अवरुद्ध भएको छ ।

हिउँपर्ने क्रम जारी रहेकाले सडक खुलाउन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । यसैगरी सुदूरपश्चिका बाजुरा, बझाङ, डोटी र दार्चुलाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि हिमपात भईरहेको छ ।

वर्षा र हिमपातले जनजीवन कष्टकर बनेपछि हिउँदे बाली सप्रिने भएकाले किसानहरु भने खुशी देखिएका छन् । सुदूरपश्चिमका तराइका जिल्लाहरु कैलाली र कञ्चनपुरमा पनि गए रातीदेखि नै वर्षा भईरहेको छ । वर्षाले चिसो बढाएकाले सडकमा यातायातका साधन समेत न्युन मात्रामा चलेका छन् ।

हिमपातका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । हिउँ पर्न थालेसँगै चिसो बढेकाले स्वास्थ सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् । चिसोले बालबालिका तथा वृद्धवृद्धाहरुलाई बढी असर गर्ने भएकाले उनीहरुको ख्याल गर्न आग्रह गरिएको छ ।
वर्षासँगै हिमपात भएपछि किसानहरु खुशी समेत भएका छन् । यो बर्ष समयमै हिउँ परेकाले गहुँ लगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।