
काठमाडौं । देशको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । मौसममा आएको परिर्वतनसँगै विभिन्न जिल्लाका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको हो । वर्षासँगै भएको हिमपातले जननीवन प्रभावित भएको छ ।
तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमावर्ती क्षेत्र तिनजुरे, मिल्के र जलजले क्षेत्रमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । भारी वर्षा सँगै परेको हिउँका कारण यहाँको जनजिवन कठ्याङ्ग्रीदो भएको छ । हिउँका कारण बालबालिका र ज्येष्ठनागरिक प्रभावित भएकाछन् । यहाँका डाडाकाँडाहरु हिउँले ढाकेर सेताम्यै भएका छन ।
४ फिट सम्म हिउँ जमेका कारण बालिनाली सखाप भएको टुटे देउरालीका श्री कार्कीले जानकारी दिनुभयो । चित्रे,बसन्तपुर,देउराली,तिनजुरे पाथीभरा,पाँचपोखरी,मंगलबारे,चौकी गुफा लगायत उच्च लेकाली क्षेत्रमा बाक्लो हिउँ परी रहेको छ । हिउँका कारण अत्याधिक चिसो बढेको छ । सडकमा सवारी साधन गुड्न समेत समस्या हुँदा यस क्षेत्रमा आएका पर्यटकहरु बिचल्नीमा परेकाछन् ।
इलामको उच्च पहाडि क्षेत्रमा समेत बाक्लो मात्रामा हिमपात भई रहेको छ । जौबारी, सन्दकपुरलगायतका क्षेत्रमा बाक्लो हिउँ परेका कारण आवतजावतमा समेत कठीनाई भएको छ । हिमपातका कारण त्यहाँको जनजिवन कष्टकर बनेको छ ।
यता हिमाली जिल्ला रसुवाको उच्च हिमाली भेग सहित धेरै स्थानमा पनि आज बिहान बाट हिमपात भएको छ । हिमपात भए सँगै बढेको चिसोले उत्तरी रसुवाको जनजीवन प्रभावित भएको छ । गोसाइँकुण्ड, चन्दनवारी, ठूलोस्याफ्रुको गर्दागाङ, लाङ्टाङ, नाकथली तातोपानी गत्लाङ,तथा सदरमुकाम धुन्चेसमेतमा हिमपात भएको छ ।
राम्चे, स्याउवारी, उत्तरगया गाँउपालिकाको तिरू र नौकुण्ड गाँउपालिकाको यार्सा, घाङमर, दोक्लाङमा समेत हिमपात हुँदा त्यस क्षेत्रको जनजीवन भने प्रभावित भएको छ । हिमपातले जाडो बढे संगैे बालबालिका, वृद्धवृद्धा र पशु चौपाया बढी प्रभावित भएकाछन् ।
बझाङमा पनि हिमपात भएको छ । भारी बर्षा संगै परेको हिमपातका कारण अत्याधिक चिसो बढ्दा बृद्धबृद्धा र बालबालिका बढी प्रभावित भएका छन् ।
हिमपातले यहाँको बालीनालीलाईसमेत क्षति पु¥याएको छ । साईपाल गाउपालीका, सुर्मा गाँउपालीका, छविसपाथीभेरा गाउपालीका, मष्टा गाँउपालिका , तल्कोट गाँउपालिका, जयपृथ्वी नगरपालिका र बुंगल नगरपालीकाको माथिल्लो भेगमा भारी मात्रामा हिमपात भएको हो ।
बैतडीमा पनि गएरातिदेखि हिमपात भइरहेको छ । बैतडीको अनारखोली, खोड्पे, अनारखोली, सतबाँझ भावर, गाँजरी,बाजपानी, ढोल्यामोड, देहिमाडौं लगायतका ठाउँहरुमा हिमपात भएको हो ।
हिमपातका कारण यहाँका राजमार्गसमेत बन्द भएका छन् । अनारखोली,भालुमारे खोडपे क्षेत्रमा परेको हिमपातका कारण दशरथचन्द राजमार्गमा गाडी चल्न सकेका छैनन्। यस्तै बाजपानी,ढोल्यामोड,खोडपे क्षेत्रमा परेका हिउँका कारण जयपृथ्वी राजमार्गमा पनि सवारी आवगमन हुन नसकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी, निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । हिउँ पर्न थालेसँगै चिसो बढेकाले स्वास्थ सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् ।
प्रतिक्रिया दिनुहोस्