
काठमाडौं । आज स्वर्गीय राजा वीरेन्द्र शाहको ७७ औँ जन्मदिन हो ।
विगतमा उहाँलाई संझेर राजसंस्था समर्थकहरुले विभन्न कार्यक्रम गरेर मनाएपनि यस वर्ष कसैले पनि औपचारिक कार्यक्रम भने गरेनन् ।शाहको जन्म २००२ साल पुस १४ गते भएको थियो । २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा उहाँ सहित उहाँका सबै परिवारको मृत्यु भएको थियो । सो हत्याकाण्डमा राजा वीरेन्द्रसँगै रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति सहित १० जनाले ज्यान गुमाएका थिए । उक्त हत्याकाण्डको यथार्थ भने अझै पत्ता लाग्न सकेको छैन् । उक्त हत्याकाण्डलाई नेपाली ईतिहासको सबैभन्दा चर्चित तथा कहालीलाग्दो घटनाका रुपमा लिइन्छ ।
राजा बीरेन्द्रलाई एसियाका प्रभावशाली व्यक्तिका रुपमा हेरिने गरिन्थ्यो । उहाँको परिवारको हत्याले देशनै स्तब्ध भएको थियो । राजालाई विष्णुको अवतारका रुपमा हेर्ने नेपालीले राजा वीरेन्द्रलाई पिता सरह मानेका थिए ।हत्याकाण्ड छानविन गर्न तत्कालिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, र सभामुख तारानाथ रानाभाटसहितको छानविन समिति बनाइएको थियो । उक्त समितिले युवराज दीपेन्द्रले देवयानी राणासँगको प्रेम सम्बन्धका कारण नै आफ्ना परिवार सखाप पार्नुभएको र पछि आफूले पनि गोली हानेर आत्महत्या गरेको भन्ने प्रतिवेदन दियो । तर त्यसलाई अझै पनि नेपाली जनताले पत्याउन भने सकेका छैनन् ।
यो घटना अझै रहस्यमय नै छ । केही राजावादीले भने बीरेन्द्रको जन्मदिनको अवसर पारेर ललितपुरको जावलाखेल चोकमा रहेको उहाँको शालिकमा माल्यार्पण गरेर जन्मदिन मनाएका छन् । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तरानाथ लुइँटेलले आफूहरुले जावलाखेलमा पुगेर राजा वीरेन्द्रको योगदानलाई संझिदै उहाँको सालिकमा माल्यार्पण गरिएको इमेजखबरलाई बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्