२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


रुसमाथि नाकाबन्दी लगाए अमेरिकासँगको सम्बन्ध पुरै विच्छेद गर्ने रुसी राष्ट्रपति पुटिनको चेतावनी

युक्रेनमाथि आक्रमण गरे निर्णायक कदम चाल्ने बाइडेनको जवाफ

1.989k
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको विषयलाई लिएर रुसमाथि नयाँ नाकाबन्दी लगाइए अमेरिकासंगको सम्बन्ध पुरै विच्छेद हुने चेतावनी दिनुभएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनसँग हिजो भएको टेलिफोन कुराकानीमा पुटिनले त्यस्तो कदम भयंकर गल्ती हुने बताउनु भएको क्रेमलिनका प्रवक्ताले जनाएका छन् । तर बाइडेनसंगको संवाद सन्तोषपूर्ण रहेको पनि क्रेमलिनका प्रवक्ता युरी युसाकोभको भनाइ छ ।

५० मिनेट लामो टेलिफोन संवादका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमाथि आक्रमण भएमा अमेरिका र उसका सहयात्री देशहरुले निर्णायक जवाफ दिने बताउनु भएको थियो । युक्रेनको पूर्वी सिमा क्षेत्रमा रुसले १ लाख बढी सेना तैनाथ गरेपछि रुस र अमेरिकासहित पश्चिमा मुलुकहरुबीच तनाव चर्किदै गएको छ ।

रुसले भने युक्रेनमाथि आक्रमण गर्ने कुनै योजना नरहेको भन्दै आफ्नो भूमि रक्षाका लागि युक्रेनको सिमानामा सेना तैनाथ गरेको तर्क गर्दै आएको छ । बाइडेन र पुटिनबीचको कुराकानी निकै गम्भीर र अर्थपूर्ण देखिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

कुराकानीपछि ह्वाइटहाउसका प्रेस सचिव जेन पास्कीले तनाव कम गर्न रुसले के गर्छ भन्ने विषयले अगाडिको बाटो निर्धारण गर्ने बताएका छन् । दुई देशका अधिकारीहरुबीच आगामी महिना जेनेभामा प्रत्यक्ष कुराकानी गर्ने तयारी पनि भईरहेको छ ।