
-रामचन्द्र कार्की
सन् २०१९ नोभेम्बर मै देखापरेपनि २०२० जनावरीसम्म खासै चर्चामा नआएको कोरोना भाइरस चिनिया बसन्त चाडमाको आगमन सगै माहामारीको रुप लिन पुग्यो । मानिसहरुको ओहोरदोहोर बढेसँगै फैलिएको यो भाइरसबाट आजसम्ममा साडे बीस हजार भन्दा बढी मानिसमा संक्रमण फैलिएको छ भने झन्डै साँढे चार सयको ज्यान लिएको छ । वुहानबाट सुरु भएपनि हाल पुरै चीन र विश्वका अन्य केही मुलुकमा संक्रमण फैलिएको छ । संक्रमण नियन्त्रण गर्न सबैभन्दा पहिले वुहान क्षेत्रको यातायात बन्द गरिएको थियो भने धेरै भीड हुने ठाउँमा सकेसम्म नजान भनिएको थियो । हाल घरबाट बाहिर निस्कन दिएको छैन । यो विशेषगरी वुहानमा कडाइको साथ लागू गरिएको छ । वुहान भन्दा बाहिर भने अवस्था अनुसार कतै केही खकुलो पनि छ ।
संक्रमणको समाचारहरु निकै आउन थालेपछि धेरै बिद्यार्थी, कर्मचारीहरु बसन्त चाडमा (नेपाली दशैं जस्तै) मा पनि आफ्नो आफन्तसँग मनाउन त जान सकेनन नै, धेरैले एक्लो भएर जे छ त्यही खाएर मनाए । इन्टरनेटको सुबिधाको कारण भिडियो च्याट भने गर्न पाए । विश्वविद्यालयहरुमा मुख्य ढोका बन्द छन । विश्वविध्यालयभित्र एक बिल्डिङबाट अर्कोमा आउँदा जाँदा पनि प्रत्येक पटक विद्यार्थीको शरीर तापमान जाँच गरिन्छ । मुख्य ढोका बाहिर जान परेमा हरेक पटक रजिष्ट्रर गर्नुपर्छ । बाहिर जानुको उचित कारण नदिए रोकिन्छ । साथै छिटो फर्कन भनिन्छ । विश्वविद्यालयले नयाँ एप्लिकेसन फारम निर्माण गरेको छ, जसमा हरेक विद्यार्थीले हरेक २४ घण्टा भित्र आफ्नो अवस्था बारेमा भर्न भनिएको छ । विश्वविद्यालय बाहिर रहेका बिद्यार्थीलाइ अर्को सूचना नहुन्जेल विश्वविद्यालय नफर्कन भनेको छ भने निरन्तर सम्पर्कमा रहन पनि भनेको छ । त्यसैगरी अब छिटै अनलाइन कक्षा संचालन हुनसक्ने जानकारी पनि गराइसकेको छ ।
जनावरी २२ देखि २७ सम्म वुहान र आसपासको क्षेत्र भ्रमण गर्ने बिद्यार्थीलाई १४ दिन सम्मको लागि ‘आइसोलेसन’(नियमित निगरानी)मा राखिएको छ, उनीहरु प्रत्येकलार्इ एउटा टिभी, वाईफाईलगायतका सुबिधासहितको कोठामा राखिएको छ । खाना र पानीको ब्यबस्था विश्वविद्यालय नै गरेको छ । हरेक दिन शरीर तापमान नाप गरिन्छ । होस्टेलको ढोका बाहिर निस्कँदा सबैले माक्स लगाएकै हुन्छन् । तातो पिउने र हातमुख धुने गरिरहन्छ्न । दिउँसो एकादुइ मानिस बिल्डिङ बाहिर देखिन्छन् । दिउँसो ननिस्कनेहरु राती पनि एकादुइ देखिन्छन् । धेरैजसो क्यानटिनहरु बन्द छन् । खुल्ला भएकाहरुमा पनि खानेकुराको धेरै कम परिकार पाइन्छ । पाइएको पनि मूल्य सामान्य भन्दा दोब्बर जस्तो बढी छ । यद्यपी, बाहिर तरकारी मुल्यवृद्धिको अनुपातमा सस्तो हो । धेरै विश्वविद्यालयको अवस्था यहि हो । तर स्रोत र साधनको आधारमा कुनैमा केही फरक पनि हुनसक्छ ।
चीनमा पढिरहेका बिद्यार्थी आफ्नो देश फर्कंदा शरीरमा ज्वरो भेटिएमा एयरपोर्टबाट नै फिर्ता गरिएको खबरहरु सुनिएको छ । प्रायः सँधै सँघै बसेर खाना खाने साथीहरू पनि पाँच मिटरभन्दा टाढाबाटै ‘हेलो’ भन्दै हिड्छन । अनि फर्केर एकान्तमा पुगेपछि विइच्याटमा कुरा गर्छन । धेरै ठाउँका पसलहरु बन्द छन । सुपरमार्केटमा सामान किन्न आउनेहरूको भीड छ । तर कोही पनि धेरैबेर बस्दैन । सामान्य अवस्थामा निकैबेर लगाएर सामान छानीछानी लिनेहरु नहेरी समान उठाएर हिंड्छन । फलफूल र तरकारीको भाउ सामान्य भन्दा तीन चार गुणाले बढेको भएपनि हारालुस जस्तै हुन्छ । चाउचाउ जस्ता खानेकुराहरु सुपरमार्केटमा पनि निकै कम मात्र भेटिन्छ । माक्स त किन्न पनि पाइन छाडेको छ । अनलाइन किन्न पनि एक त बसन्त चाडको बिदा, अर्को यातायात बन्द भएको कारण निकै ढिला मात्र डेलिभरी दिने, त्यही माथि निकै मंहगो छ ।
हामीले थाहा पाएअनुसार अहिले काम गर्ने कामदारहरुको ज्याला र तलब पनि सामान्य भन्दा दुइ तीन गुणाले बृद्दी भएको छ । कामदारको संख्या कम भएको कारण कामदारहरुलाई कामको लाड पनि सामान्य भन्दा बढी भएको सजिलै बुझ्न सकिन्छ । यति हुदाहुदै पनि विश्वविद्यालय बाहिर भने केही मानिसहरु सामान्य अवस्थामा जस्तै मर्निङ र इभिनिङ वार्क गर्न निस्केको भेटिन्छ । अझै कतिपयले त माक्स पनि लगाएको देखिदैन ।
कोरोना भाइरसको प्रकोप बढेसंगै चीनमा अध्यनरत वुहान बाहेकका धेरै नेपाली बिद्यार्थी नेपाल फर्किसकेका छन् । धेरै बिद्यार्थी नेपालको एयरपोर्टमा चेकजाँच हुन्छ अनि आइसोलेसनमा बस्नुपर्छ भन्ने गर्थे । तर नेपाल पुग्ने वित्तिकै एयरपोर्टमा कुनै चेकजाच नहुने र सिधै घर जान पाइने हुँदा बाँकी साथीहरु पनि छिटै आउन भन्दै मेसेज गर्नथाले । यो नेपाल सरकारको हेलचेक्र्याइँ हो कि आफ्ना नागरकि प्रति छुट ? यद्यपी, नेपालमा यो भाइरसका बारेमा अनावश्यक हल्ला गर्न भन्दा पनि सचेतना आवश्यक देखिन्छ । किनकी चीन सरकारले अत्यन्तै संवेदनशील भएर कदमहरु चालिरहेको छ । स्वास्थ्य चेकजाँचमा कमी हुन दिएको छैन । सेवा सुविधा मजबुद बनाउँदै लगिरहेको छ । हामी यहाँ सुरक्षित छौं र नियमित स्वास्थ्यको ख्याल गरिरहेका छौं । (लेखक- बेइजिङमा बसेर विद्यावारिधी गरिरहेका विद्यार्थी हुन)
प्रतिक्रिया दिनुहोस्