
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताउनुभएको छ ।
शुक्रबार नेपाल पर्यटन बोर्डको २३औं वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताउनुभयो । उहाँले हाल छानबिनका क्रममा रहनुभएका बोर्डका सिईओ धनञ्जय रेग्मीले टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
मन्त्री आलेले सिइओ रेग्मीकै कारण बेलायतमा भएको विश्व पर्यटन मेलामा नेपालको बेइज्जत भएको भन्दै रक्सीको मातमा उन्मत्त भएका मानिसलाई संस्थाको सिईओ बनाउँदा संस्था चल्न नसक्ने बताउनुभयो । उहाँले सिईओ रेग्मीलाई साँढेको संज्ञा दिँदै आफ्नो इमान किन्ने कुरा सपनामा पनि नसोच्न चेतावनी दिनुभयो ।
आफू लण्डन जाँदाको प्रसङ्ग झिक्दै उहाँले भन्नुभयो, ‘यहाँबाट म लण्डनको प्रोग्राममा गएँ । त्यहाँ गएपछि मैले मेरो देशको लागि कोभिडबाट थला परेको देश, हस्पिटालिटीमा लागेका साथीहरूसहित विभिन्न साथीहरू, हाम्रो देश सेभ जोनमा छ भनेर सबैलाई आह्वान गर्ने इच्छा थियो । त्यो फोरममा बोल्ने इच्छा थियो । तर, त्यो साँढेले केही पनि छैन, बोल्ने कार्यक्रम मन्त्रीज्यू ।’
उहाँले थप्नुभयो, ‘त्यहाँ १७ देश जतिका मन्त्रीहरू राउण्ड टेबलमा बसेर आफ्नो देशको विषयमा टुरिजमको विषयमा कुरा राख्छन् । म आउट अफ रिङ छु । एउटा देशको मन्त्री । यहाँबाट लण्डन गएँ, दूतावासमा राखिदियो । त्यो फोरममा मैले बोल्न पाइनँ । मलाई एकदमै इरिटेड भयो ।’
‘अब यस्तो साँढेलाई सिईओ हामीले बनायौँ भने संस्था चल्छ ? सदस्यहरुले यस्तो गर्नुहुँदैन संस्था डुब्छ भन्दा ल तपाई आज धेरै रिसाउनुभयो, जाउँ हिँड्नुस् रक्सी खान भन्ने, त्यस्तो साँढेलाई ल्याएर सिईओ बनाएपछि संस्था चल्छ ?’ उहाँले भन्नुभयो, ‘म त दुःखका साथ भन्छु, लण्डनमा हुँदा कार्यक्रममा डेढ घण्टा म उभिएँ, सबैले स्याम्पेन खाइरहेका छन् । म नखाने मान्छे साइडमा उभिरहेँ । हाम्रो त्यो साँढेले पनि भटाभट लगाइरहेको छ ।’
उहाँले फेरि थप्नुभयो, ‘आफ्नै आँखाले देखिरहेको छु, मलाई खा भन्छ । उसले पहिलाको मन्त्री जस्तो ठान्यो होला प्रेम आलेलाई । ४ वटा गाडी बेचेर प्रेम आलेलाई त्यो इमान म खरिद्छु भनेर त्यसले सोच्यो होला त्यो सपनामा पनि नसोचे हुन्छ । इमान बेचेर म यो चियरमा बस्नेवाला छैन ।’
मन्त्री आलेले आफ्नो मन्त्रालय अन्तरगतका संघसंस्थाहरुमा विकृतिहरुको चाङ भएकोले सम्हाल्नै गाह्रो भइरहेको बताउनुभयो । उहाँले पहिला काले काले मिलेर भाले खाए पनि अब प्रेम आले आएकोले भ्रष्टाचार हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री आलेले डब्लूटिएमको कार्यक्रममा जाँदा बोर्डबाट ८० लाख खर्च भएको भन्ने सुनेको भन्दै त्यसको छानबिन गर्न माग गर्नुभयो । उहाँले सबै खाने खर्च आफूले व्यहोरेकाले खर्चको बारेमा छानबिन गरेर कारबाही गर्नुपर्ने बताउनुभयो ।
मन्त्री आलेले आफ्नो संस्थाप्रति उत्तरदायी भएर काम गर्न सबै कर्मचारीहरूलाई निर्देशनसमेत दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्