
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताउनुभएको छ ।
शुक्रबार प्रधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको र आजबाट यो समस्या समाधान हुने बताउनुभयो । विद्युत आपूर्ति नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति माग आए पनि आपूर्ति गर्ने स्थितिमा रहेको स्पष्ट पार्नुभयो ।
काठमाडौं उपत्यकामा ९ वटा सबस्टेशन थप्न लागिएकाले भन्दै घिसिङदले सबस्टेशन बनिसकेपछि दीर्घकालीन रूपमा उपत्यकामा २ हजार मेगावाटको विद्युत आपूर्तिमा समस्या नहुने बताउनुभयो । केही ट्रान्सफर्मरहरू लोडअनुसार फेरिरहेको र केही फिडरहरूमा आगलागी भएको यी समस्या आइरहेको जानकारी गराउनुभयो ।
प्रमुख कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘विगत ३/४ दिनदेखि विद्युत आपूर्तिमा केही समस्याहरू देखियो भन्ने जनगुनासोहरू आयो । यो समस्या देशभित्र सबैतिर भएको समस्या होइन । काठमाडौंमा मात्रै हो । यो सप्लाईको कारणले भएको समस्या होइन । सप्लाई नपुगेको हुनाले हामीले आपूर्ति नभएको पनि होइन ।’
‘काठमाडौंका सबै ठाउँमा यो समस्या आएको पनि होइन । केही ठाउँहरूमा मात्र समस्या भएको हो । बास्तवमा हाम्रो विद्युतको बेलुकाको पिक लोड अहिले करिव १७ सय मेगावाट र बिहानको करिव साढे १५ सयदेखि १६ सय मेगावाट पिक लोड आइरहेको छ । त्यसमा हामीले सप्लाई गर्न सकिरहेका नै छौँ’, उहाँले भन्नुभयो ।
‘अपर तामाकोशी आइसकेपछि बिहान र बेलुकाको पिकलाई सहज भएको छ । काठमाडौंमा जाडो बढेलगत्तै विद्युतको खपत बढ्नु स्वभाविक हो । विगत वर्षभन्दा अहिले ८० देखि १०० मेगावाट काठमाडौंको लोड बढेको छ । पानी परेपछि ठाउँ–ठाउँमा हाम्रो लोडहरू अप्रत्यासित रूपले बढ्यो ।’
काठमाडौं उपत्यकामा मात्रै ३७ वटा ट्रान्सफर्मर भएको बताउँदै घिसिङले अहिलेको मुख्य समस्या ट्रान्सफर्मरहरूमा ओभरलोड भएको स्पष्ट पार्नुभयो । साथै उहाँले आफूहरू ट्रान्सफर्मर फेर्न लागिपरिरहेको बताउनुभयो ।
‘काठमाडौं उपत्यकामा मात्रै करिव ३७ सय ट्रान्सफर्मर छन् । त्यसबाट हाम्रो आ उपभोक्तलाई सप्लाई हुन्छ । यदि फिडरमा नै समस्या आएको छ भने १०/२० वटा ट्रान्सफर्मरहरूमा समस्या आउने हुन्छ । अहिलेको मेजर समस्या वितरण ट्रान्सफर्मरहरू ओभरलोड भएको हो,’ उहाँले भन्नुभयो ।
उहाँले थप्नुभयो, ‘लोडअनुसार हामीले ट्रान्सफर्मरहरू फेर्ने काम गरिरहेका छौँ । केही फिडरहरूमा पनि आगलागी भयो । केही स्थानमा भने ट्रान्सफर्मरहरू पछि पनि केवलहरू घरमा जान्छ, त्यसमा आगलागी भएकोले फेर्दा समस्या आएको हो ।’
प्रमुख कार्यकारी निर्देशक घिसिङले आजबाट उपत्यकामा ट्रान्सफर्मरहरू परिवर्तन गरिसक्ने भएकोले विद्युत जाने समस्या नहुने बताउनुभयो । केही स्थानमा त्यहाँका बासिन्दाहरूले सबस्टेशन बनाउन नदिएकोले पनि समस्या आउने गरेको भन्दै स्थानीयहरूले सब्स्टेशन बनाउन दिन उहाँको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस्