
एजेन्सी । अंग्रेजी संवत २०२१ हामीबाट विदा हुँदैछ । पुरानो संवतको विदाई र नयाँ संवतको आगमनमा विश्व अधैर्य प्रतिक्षामा छ ।
यो वर्ष समग्रमा कोरोना महामारी, राजनीतिक परिवर्तन, प्राकृतिक प्रकोप, हत्याहिंसा जस्ता घटनाहरूले निरन्तरता पाए । केही सुखद् र अपत्यारिला घटनाहरू पनि यस वर्षमा भएका छन् ।
अघिल्लो वर्ष कोभिडले आतंकित विश्व नयाँ वर्षसँगै त्यही घाउ बोक्न बाध्य छ । लाखौं मानिस कोभिडको दुश्चक्रबाट उम्कन सकेनन् । कोभिडविरुद्धको खोप उत्पादन र वितरणले विश्व राजनीतिलाई फरकधारमा उभ्यायो । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको लाभाले यतिबेला विश्वलाई थर्कमान बनाएको छ ।
अमेरिकालगायत युरोपेली मुलुकमा त नयाँ वर्ष मनाउनै प्रतिबन्ध लगाइएको छ । विश्वका हजारौं हवाइ उडान प्रभावित छन् । दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन कोरोना विरुद्ध खोपको डोज पूरा गरेकाहरू पनि ओमिक्रोन संक्रमित हुन थालेपछि विश्व त्राहिमाम बनेको छ ।
अमेरिकाले फाइजर–बायोएनटेक कम्पनीद्वारा उत्पादित खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई समेत लगाउन मिल्ने भएपछि एकप्रकारको उत्साह छाएको छ ।
अफगानिस्तानको राजनीतिक परिवर्तनले विश्व राजनीतिलाई तरंगित बनायो । अफगानिस्तानमा दशकांैदेखि विद्रोह गर्दै आएको तालिवानी विद्रोहीले सत्ता हत्याएपछि लाखौं जनता रातारात देशबाट पलायन भए । जसका कारण सयौं बालबालिका टुहुरा हुन पुगे । तालिवानी शासन विश्वका लागि अहिले पनि पर्ख र हेरको नीतिमा छ ।
अमेरिकी राष्ट्रपति पदमा जो बाइडेनको प्रवेश २०२१ को पहिलो महिनाले विश्व राजनीतिलाई दिएको कोसेली हो । उहाँले जनवरी २० सन् २०२१ मा अमेरिकाको ४६ औं राष्ट्रपति पदका लागि शपथग्रहण गर्नुभयो । सिरियाको राष्ट्रपतिमा बसर अल असद चौथो पटक चुनिनुभयो ।
म्यानमारको चर्चित र प्रभावशाली नेतृ आङ सान सुकीलाई सेनाले नियन्त्रणमा लियो । बन्दुकको आडमा गरिएको ‘कू’बाट धेरै निर्दोष नागरिक ज्यान गुमाउनुपर्यो ।
फेसन कम्पनी लुइस भ्यूटनका मालिक बर्नाड आर्नल्ट विश्वकै सर्वाधिक धनी व्यक्ति बन्नुभयो । फोर्बस म्यागजिनको रियल टाइम अर्बपतिको सूचीमा आर्नल्डले अमेजन मालिक जेफ बेजोसलाई पनि उछिन्नुभएको हो ।
चीनले जुलाई र अगस्टमा गरी दुई पटक नयाँ हाइपरसोनिक हतियार परीक्षण गर्यो । योसँगै चीनको भू–राजनीतिक प्रतिद्वन्द्वी अमेरिकासमेत चिन्तित बन्न पुग्यो ।
सन् २०१५ को आणविक सम्झौता बुझाउने विषयमा इरान र पश्चिमी देशहरूबीच वार्ता अवरुद्ध भइरहेको बेला इरानले अन्तरिक्षमा तीनवटा अनुसन्धान उपकरण पठाएको छ ।
सन् २०२१ मा अर्को दुःख लाग्दो घटनामा भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतसहित १४ जनाको हेलिकप्टर दुर्घटनामा निधन भयो । सन् २०२० जनवरी १ मा देशको पहिलो चिफ अफ डिफेन्स स्टाफ नियुक्त हुनुभएका रावत नेपाली भाषामा दख्खल राख्नुहुन्थ्यो ।
पश्चिम अफ्रिकी मुलुक गिनीमा सेनाले ‘कू’ गरी राष्ट्रपति अल्फा कोंडेलाइ नियन्त्रणमा लियो । यसैगरी भ्रष्टाचारको अभियोग लागेपछि दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति ज्याकब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गर्नुभयो ।
फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्टाचारको आरोपमा जेलको पाहुना हुनुभयो । यही वर्ष १६ वर्षसम्मको कार्यकारी पदमा सफलता हासिल गरेर जर्मन चान्सलर एन्जेला मर्केल पदमुक्त हुनुभयो ।
इण्डोनेशियाको राजधानी जकार्ताको काँठक्षेत्रमा रहेको एउटा कारागारमा आगलागी हुँदा कम्तीमा ४१ कैदीबन्दीले यसै वर्ष ज्यान गुमाए । अफ्रिकी मुलुक इथियोपियाको टिग्रे क्षेत्रमा गरिएको सैन्य कारबाहीमा ५ हजार ६ सय विद्रोही लडाकु मारिए ।
दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्ने मुख्य नायक डेसमण्ड टुटुको ९० रपेरुमा तीस वर्षदेखि कारागारमा राखिएका कम्युनिष्ट नेता अबिमल गुजम्यानको ८६ वर्षको उमेरमा निधन भयो ।
प्राकृतिक विपत्तिको दृष्टिले पनि सन् २०२१ प्रिय रहेन । फिलिपिन्समा आएको विध्वंशकारी आँधीमा ३० जनाभन्दा बढीको मृत्यु भयो ।
हिन्दी चलचित्रका प्रख्यात अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा परलोक हुनभयो । बेलायती राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भयो । कमजोर स्वास्थ्य अवस्थाका कारण उहाँको निधन भएको हो । अफ्रिकी मुलुक तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा देहत्याग गर्नुभयो ।
इण्डोनेसियामा ६२ जना यात्रु बोकेको बोइङ सेभेन थ्री सेभेन विमान दुर्घटना हुँदा ६ बालबालिकासहित ५६ यात्रु र ६ जना चालकदलको मृत्यु भयो । राजधानी जकार्ताबाट पश्चिमी कालिमान्तन प्रान्तका लागि उडेको विमान उडेको केहि बेरमै समुद्रमा खस्यो ।
दुबईका अर्बपति शासक शेख मोहम्मद बिन राशिद अल मकतुम र उनकी पत्नी प्रिन्सेस हया बिन्त अल हुसेनबीचको सम्बन्ध विच्छेद विश्वकै महंगो सम्बन्ध विच्छेद बन्नपुग्यो । शासक मकतुमले पत्नीलाई ५० करोड पाउण्ड अर्थात करिब ८० अर्ब रुपैयाँ बढी तिर्न बाध्य हुनुपर्यो ।
यसवर्षको मिस युनिभर्सको ताज भारतीय युवती हरनाज सन्धुले पहिरिइन् । इजरायलको इलात शहरमा भएका ७०औं संस्करणको फाइनलमा ८० देशका प्रतिस्पर्धीलाई उछिन्दै पञ्जाबी युवतीले ताज हात पारेकी हुन् ।
बेलारुसको राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कलाई विश्वकै भ्रष्ट व्यतिm ठहर भए । संगठित अपराध तथा भ्रष्टाचार रिपोर्टिङ परियोजनाले तयार गरेको सूचिमा उहाँसहित अफगानिस्थानका पूर्वराष्ट्रपति अशरफ घानी, सिरियाका राष्ट्रपति बशर अल असद, टर्कीका राष्ट्रपति रेचेप अर्दोआन र अस्ट्रियाको पूर्वराष्ट्रपति चान्सलर सेबेस्टियन कर्जको नाम समावेश छ ।
यसै वर्ष अवैध साम्रगी हटाउन नसकेको अभियोगमा रुसको राजधानी मस्कोको अदालतले अमेरिकी कम्पनी गुगललाई ९ करोड ८० लाख अमेरिकी डलरको जरिवाना गर्ने आदेश दिएको छ ।
अन्टार्टिका महादेशमा एक पेन्गुइनले लामो दूरी हिँडेर रेकर्ड बनाएको छ । अन्टार्टिकाबाट हिडेरै न्युजिल्याण्डको कोस्टामा पुगेको पेन्गुइनले करिब ३ हजार किलोमिटर दूरी पार गरेको थियो । तर, यो जातको पेन्गुइनले १ सय १३ किलोमिटर हिड्न सक्ने बताइएको थियो ।
प्रतिक्रिया दिनुहोस्