२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बन्दसत्रमा अध्यक्ष दाहालको जवाफ : पार्टीका लागि जस्तोसुकै त्याग गर्न तयार छु

चुनावपछि विशेष महाधिवेशन गर्ने दाहालको भनाइ

52
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष दाहालले दिएपछि जारी बन्दसत्रले प्रतिवेदन पारित गरेको हो । आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन अध्यक्ष दाहालले वैचारिक र राजनीतिक तथा नेता देव गुरुङले विधान मस्यौदा पेश गर्नुभएको थियो ।

प्रतिवेदनमाथि मंगलबार २५ वटा समूहमा छलफल भएर बुधबार र बिहीबार दुई दिन समूहका नेताहरूले आ–आफ्नो समूहको सुझावसहित निष्कर्ष पेश गरेका थिए । आफ्नो दस्तावेजमाथि उठेका प्रश्नमा जवाफ दिने क्रममा अध्यक्ष दाहालले प्रतिनिधिबाट आएका प्रश्न तथा सुझाव समेटेर ठोस विचार विकास गर्न छुट्टै महाधिवेशन गरिने जानकारी दिनुभयो ।

वर्तमान महाधिवेशन विचारको बहसमा सुरुवात भएको र अर्को विशेष महाधिवेशनमा थप अध्ययन, अनुसन्धान र बहस गरेर विचारको विकास गरिने उहाँको भनाइ छ । नेतात्रय राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र फरक मत प्रस्तावबारे अध्यक्ष अध्यक्ष दाहालले किटान गरेर नबोले पनि सबैको भावना समेट्ने बताउनुभयो ।

प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष दाहालले एमसिसीबारे ठोस बहस गर्नुभएन । एमसीसी बारेमा धेरै बोल्दा देश खतरातर्फ जाने सम्भावना रहेको भन्दै सारमा जे प्रतिवेदनमा छ, त्यही रूपमा बुझ्न आग्रह गर्नुभयो । उहाँले आफूमाथि विभिन्न प्रश्न उठेको भन्दै पार्टीका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको दाबी गर्नुभयो ।

कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला ? चिल्लो गाडी छोड्न सक्ला ? काठमाडौंको रमझम छोड्न सक्लान् ? भनेर प्रश्न उठाउने गरेको भन्दै जरुरी परे आफूलाई गाउँघरमा जान, उनीहरूसँगै बस्न, मजदुरसँग खान, जनतामाझ गएर बस्न कुनै कठिन नभएको जिकिर गर्नु भयो ।

आफूलाई कतिपयले अस्थिर भने पनि आफू गतिशीलताको यात्रामा रहेको भन्दै अध्यक्ष दाहालले यसमा सुधारवाद नभइ छलाङ र गतिशीलता रहेको बताउनुभयो ।

महाधिवेशनस्थल कमलादीबाट निस्कने क्रममा अध्यक्ष दाहालले संगठनको रुपान्तरण र विचारलाई विकसित गर्नका लागि चुनावपछि विशेष महाधिवेशन आवश्यक रहेको बताउनुभयो । जारी महाधिवेशनले नै सबै कुरा पूर्ण नहुने भन्दै उहाँले वैचारिक विकासको भने सुरुवात भएको बताउनुभयो ।

जारी महाधिवेशनले १५ पदाधिकारीसहित २ सय ९९ कार्यसमिति चयन गर्नेछ ।