
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ ।
अनलाइन पत्रकार संघ, नेपालले शनिबार काठमाडौंमा गरेको कर्यक्रममा बोल्दै उहाँले अनलाइन सञ्चार माध्यामलाई पनि लोक कल्याणकारी विज्ञापन दिने सरकारको नीतिलाई कार्यान्वयनमा लैजान सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभयो ।
अनलाइन सञ्चार माध्यमलाई विश्वसनीय, जवाफदेही र मर्यादित बनाउन विशेष पहलकदमी लिन पत्रकारहरूलाई उहाँले आग्रह गर्नुभयो । अनलाइन सञ्चार माध्यमलाई मर्यादित बनाउन सरकारले पनि पत्रकारहरूसँगै बसेर काम गर्ने उहाँको प्रतिबद्धता छ ।
मन्त्री कार्कीले मुलुकको विकास र समृद्धिका लागि सञ्चार माध्यामसहित सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताउनुभयो । सरकारले यसअघि टेलिभिजन, रेडियो र पत्रपत्रिकालाई मात्र लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्