
बैतडी । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट अन्र्तगत बैतडीले विजयी सुरुवात गरेको छ ।
शनिबार सम्पन्न छनोटको पहिलो खेलमा डोटीलाई १ सय ९९ रनले पराजित गर्दै बैतडीले विजयी सुरुवात गरेको हो । बैतडीले दिएको ३ सय ४१ रनको विशाल लक्ष्य पछ्याएको डोटी ३२ दशमलब २ ओभरमा १ सय ४१ रनमा समेटियो ।
डोटीका लागि क्रिस ऐरले ३८, हृद्य विठारीले २८, खगेन्द्र जोशीले २३, आयुश खड्काले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बैतडीका लागि वीरेन्द्र नाथले उत्कृष्ट बलिङ गर्दै ५ विकेट हात पारे । यस्तै जगदीश चन्दले २, कप्तान राम चन्द र लोकेन्द्र चन्दले १/१ विकेट लिए ।
त्यसअघि कभर्डहल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित ३५ ओभरमा ५ विकेटको क्षतिमा ३ सय ४० रनमा बनायो ।
जसमा दीपक बोहराले शतकीय पारी खेल्दै १ सय ११ रन जोडे । यस्तै गजेन्द्र बोहराले ९० र लोकेन्द्र चन्दले ६४ रन बनाए । डोटीका सविन महराले २, भोजराज भट्ट र रिदम बलायरले १/१ विकेट झारे ।
बैतडीका दीपक बोहरा म्यान अफ द म्याचमा चुनिएको सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिनुभयो ।
प्रदेशस्तरीय छनोट प्रतियोगितामा यहाँका ८ टोलीको सहभागिता रहेको छ । सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई छनोट गरेर सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ ।
नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ देखि गतेदेखि काठमाडौंमा हुदैंछ ।
प्रतिक्रिया दिनुहोस्