७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


भोलि साँझसम्म सर्वसम्मतिले नेतृत्व चयन हुन्छ : रामनारायण विडारी


169
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता एवं राष्ट्रियसभा सदस्य रामनारायण विडारीले भोलि साँझसम्म पार्टीको नयाँ नेतृत्व टुंगिने बताउनुभएको छ ।

बन्दसत्रको हलबाट बाहिर निस्कँदै नेता विडारीले आइतबार दिउँसो १ बजे बस्ने बन्दसत्रले साँझसम्म नेतृत्व चयन गर्ने बताउनुभयो ।

‘अध्यक्षज्यूले राति चिसोमा किन बस्नु, भोलि दिउँसो सबै कुरा मिलाऔं भन्ने प्रस्ताव राख्नुभयो, हलले उक्त प्रस्तावलाई पारित गर्यो,’ उहाँले भन्नुभयो, ‘अब भोलि दिउँसो १ बजे पुनः बन्दसत्र सुरु हुन्छ र साँझसम्म सर्वसम्मतिमै नेतृत्व टुंगिन्छ ।’

गत शनिबारबाट सुरु भएको माओवादी केन्द्रको आठौं राष्ट्रिय अधिवेशनले आठौं दिनमा नेतृत्व पाउने नेता विडारीको भनाइ छ । उहाँले सहमतिको अवस्था बनिसकेको पनि जानकारी दिनुभयो ।

महाधिवेशनले पारित गरेको विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ ।

केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्याइएको छ । महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ ।

पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ । ५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको कोटा बनाइएको छ ।

केन्द्रीय कमिटीमा सबै कोटा र खुलाबाट गरी ३५ प्रतिशत महिला अनि २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ । माओवादी महाधिवेशनम १ हजार ७ सय ४२ प्रतिनिधि सहभागी छन् ।