
काठमाडौं । नेकपा (माओवादी केन्द्र) मा पदाधिकारी र केन्द्रीय सदस्य चयनमा सकस देखिएको छ । पुस ११ गतेदेखि राजधानीमा जारी महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुपर्नेमा पदाधिकारी र सदस्यहरुका आकांक्षी धेरै हुँदा समस्या भएको हो ।
पदाधिकारी र केन्द्रीय सदस्यहरुको निर्वाचन आज विहानदेखि गर्ने तय गरिएकोमा सहमति जुटाउने भन्दै निर्वाचन कार्यक्रम पछि सारेर सहमतिको प्रयास थालिएको हो । पदाधिकारीहरुको टुंगो सकेसम्म बन्दसत्रको हलबाटै टुङ्गाउने प्रयास जारी रहेको माओवादी नेताहरुले बताएका छन् । तर निर्वाचनको तयारी पनि संगसंगै भईरहेको छ ।
निर्वाचन कार्यतालिका अनुसार दिउँसो २ बजेदेखि साढे ३ बजेसम्म उम्मेदवारको मनोनयन तोकिएको छ भने साँझ साढे ६ बजेदेखि राती १० बजेसम्म मतदानको समय तोकिएको छ । हिजोको बन्दसत्रमा केन्द्रीय सदस्यमा सहमति जुटाउन अध्यक्षमण्डललाई जिम्मेवारी दिइए पनि सहमति जुट्न सकेको थिएन ।
बन्दसत्रले पारित गरेको नयाँ विधान अनुसार पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिने छ । केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय हुनेछ ।
प्रतिक्रिया दिनुहोस्