१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अभावमा गुज्रिदै सुर्खेतकाे सांकेतिक विद्यालय


65
Shares

सुर्खेत । सुन्ने र बोल्ने क्षमताको अभावमा हाउभाउबाट अध्ययन अध्यापन भइरहेको सुर्खेतको सिद्ध बहिरा बाल स्कुल अभाव र समस्याबाट गुज्रिएको छ ।

सुन्न र बोल्न नसक्ने बालबालिकाको शैक्षिक केन्द्रका रूपमा स्थापित स्कुलले भवन, खेल मैदान, पाठ्यपुस्तक, शिक्षक, आवश्यक बजेट जस्ता विभिन्न कुराको अभाव खेप्दै आएको हो । सुर्खेतको वीरेन्द्रनगर-८ मा रहेको यो विद्यालय अहिले सुन्ने र बोल्ने क्षमता नभएका बालबालिका अध्ययन गर्न एउटा मात्र विद्यालयको रूपमा छ ।

२०३७ सालमा स्थापित सुर्खेतका बड्डीचौर, मालारानी र गुमीमा रहेको यस्ता प्रकृतिका विद्यालयहरूलाई यसैमा गाँभिएको थियो। जीर्ण भवनमा कक्षा सञ्चालन गर्दै आएको विद्यालयमा अहिले कक्षा ९ सम्म ९० जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।

सुस्तश्रवण क्षमताका विद्यार्थीहरुले भौतिक संरचना, शैक्षिक सामग्री, अपांगमैत्री संरचनाको अभावसँगै सांकेतिक भाषामा विज्ञ शिक्षकको अभावसमेत झेली रहेको विद्यार्थी शर्मिला बुढाले सांकेतिक भाषामा बताउनुभयो । उचित स्रोतसाधन र अपर्याप्त शिक्षक दरबन्दीका कारण विद्यार्थीहरूले समस्या भोग्नुपरेको छ ।

विशेष शिक्षामार्फत सञ्चालन भएको विद्यालयमा बहिरा विद्यार्थीलाई पढाउने विशेष शैक्षिक सामग्रीको समेत अभाव रहेको छ । विद्यालयले भने भौतिक संरचना, शैक्षिक सामग्री लगायत शिक्षक अभाव स्थापनाकालदेखि नै भोग्दै आएको छ ।

१० जना सुस्तश्रवर्ण भएका विद्यार्थी बराबर एक जना शिक्षक अनिवार्य हुनुपर्ने देखिन्छ । तर कक्षा ९ सम्म सञ्चालित विद्यालयले भने विषय शिक्षकसँगै सांकेतिक भाषामा विज्ञ शिक्षक पाउन सकेको छैन ।

श्रवणशक्ति नभएका विद्यार्थीका लागि अध्ययन गर्ने प्रदेशकै एक मात्र विद्यालय भएकाले पनि विधार्थीहरू आउने क्रम बढ्दो छ । तर, आर्थिक अवस्था र पुर्वाधार नहुँदा विद्यालयमा दिनप्रतिदिन समस्या हुने गरेको छ ।

सांकेतिक भाषाको पढन पाठन हुने विद्यालयको पहिचान जोगाउन र विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न प्रदेश सरकारको ध्यान जान जरुरी देखिन्छ ।