१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रधानमन्त्री देउवा पुस २५ गते भारत भ्रमणमा जाने

भ्रमणका एजेण्डाबारे दुवै देशका परराष्ट्र मन्त्रालयले थाले तयारी

182
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा यही पुस २५ गते भारत भ्रमणमा जानुहुने भएको छ ।

सानो आकारको प्रतिनिधिमण्डलसहित भारत जान लागेका प्रधानमन्त्री देउवाले त्यहाँ उठाउने एजेण्डाको गृहकार्यमा सरकारका मन्त्रालयहरू जुटिरहेका छन् । दुवैतर्फका परराष्ट्र मन्त्रालयबीच आपसी समन्वयमा तयारी भइरहेकाले भ्रमणको औपचारिक घोषणा भइसकेको छैन ।

१० तारिखमा उद्घाटन हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सम्बोधन गर्न जाने भन्ने भए पनि अहिलेसम्म जाने टिम र मिति तय भइनसकेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।

पछिल्लोपटक गएको असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अहिलेसम्म निजी सचिवालयलाई पूर्णता दिनुभएको छैन । प्रधानमन्त्री देउवाका राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकार तथा प्रेस सल्लाहकारसहितका व्यक्तिको नियुक्ति नहुँदा औपचारिक सूचना निजी सचिवालयबाट पनि सार्वजनिक भएको छैन ।

प्रधानमन्त्रीनिकट नेताहरूका अनुसार प्रधानमन्त्री देउवा २५ गते यहाँबाट नयाँ दिल्ली ‘ट्रान्जिट’ बनाएर सिधै गुजरातको अहमदावाद पुग्ने कार्यक्तम रहेको छ । त्यहाँ उहाँले ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनलाई सम्बोधन गर्ने बताइएको छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीसँग उहाँको औपचारिक भेटवार्ता पनि गुजरातमै हुनेछ । अहिलेसम्मको तयारीअनुसार प्रधानमन्त्री देउवाले सीमा समस्याको समाधान, दुईपक्षीय हितका अन्य विषय र पारवहन थप सहज बनाउने विषय उठाउने बताइएको छ ।