१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


टेष्ट क्रिकेटमा न्युजिल्याण्डमाथि बंगलादेशको ऐतिहासिक जित


234
Shares

काठमाडौं । न्यूजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशले पहिलो टेष्ट क्रिकेटमा न्यूजिल्याण्डमाथि ऐतिहासिक जित निकालेको छ । विश्व टेस्ट च्याम्पियन न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै बंगलादेशले इतिहास रचेको हो ।

जितसँगै बंगालदेशले २ खेलको श्रृंखलामा १–० को अग्रतासमेत बनाएको छ । क्रिकेटका सबै प्रकारका फर्म्याटमा न्यूजिल्याण्डविरुद्ध बंगलादेशको यो पहिलो जित हो ।

आफ्नो घरेलु मैदानमा न्यूजिल्याण्डको भने पाँच वर्ष पछिको यो पहिलो हार हो । सन् २०१७ मा न्यूजिल्याण्ड दक्षिण अफ्रिकासँग विलिंगटनमा पराजित भएको थियो ।

न्यूजिल्याण्डले अन्तिम दिनको खेल ५ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको अवस्थाबाट सुरु गरेको थियो । तर बाँकी ५ विकेट न्यूजिल्याण्डले २२ रनमा गुमायो ।

टेष्ट च्याम्पियनसमेत रहेको न्यूजिल्याण्डलाई रोक्ने क्रममा बंगलादेशका बलर इबादर हुसेनले ५६ रन दिएर ६ विकेट लिए । दोस्रो पालीमा ब्याटिङमा उत्रिएको बंगलादेशका लागि जितका लागि जम्मा ४० रन आवश्यक थियो । जसलाई उसले १७ ओभरमा सहजै हासिल गर्‍यो ।

यसअघि भएका १५ टेस्ट म्याचमा बंगलादेशले १२ मा पराजय भोगेको थियो भने बाँकी तीन वटा बराबरी भएको थियो । बंगलादेशले अहिलेसम्म देशबाहिर ६१ वटा टेष्ट म्याच खेलेको छ । जसमा यो उसको छैठौं जित हो ।

यसअघि बंगलादेशले वेष्टइण्डिज, श्रीलंका र जिम्बावेलाई दुई/दुई पटक हराएको थियो ।