
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले भक्तपुरस्थित काठमाडौं मेडिकल कलेजको अनुगमन गर्नुभएको छ ।
चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढी रकम कलेजले लिएको उजुरीपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित शिक्षामन्त्रीले अनुगमन गर्नुभएको हो ।
अनुगमनका क्रममा मन्त्री पौडेलले चिकित्सा शिक्षा ऐन २०७५ को दफा १८ मा शुल्कसम्बधी व्यवस्था भएको र त्यहाँ निर्धारण गरेको भन्दा बढी शुल्क नलिन कलेज सञ्चालकलाई सचेत गराउनुभयो ।
मन्त्री पौडेलले कलेजका प्रिन्सिपल रतिन्द्रनाथ श्रेष्ठलाई भन्नुभयो, ‘बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित गर्नुस्, अन्यथा कानुनअनुसार कारबाही हुन्छ ।’
मन्त्री पौडेलले शुल्कका सम्बन्धमा भोलिसम्म रिपोर्ट पेश गर्न पनि निर्देशन दिनुभयो ।
‘भोलि बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा, विद्यार्थी अभिभावकसँग बसेर वार्ता गर्नुहोस्,’ मन्त्री पौडेलले निर्देशन दिँदै भन्नुभयो ।
मन्त्री पौडेलसँगै केएमसी पुगेकी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुक्रबार बिहान साढे १० बजे विद्यार्थीसहित कलेज प्रशासनलाई वार्ताका लागि बोलाउनुभएको छ ।
काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधबारदेखि तालाबन्दी र प्रदर्शन गर्दै आइरहेका छन् ।
बुधबार शिक्षा मन्त्रालयले विद्यार्थीसँग बढी शुल्क असुल गर्ने कलेजलाई कानुनी कारबाही गरी सम्बन्धन खारेज गर्ने चेतावनीसमेत दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्