
काठमाडौं । पाँच दलीय गठबन्धन मिल्दा संघीय र प्रदेश सरकारबाट हात धुनुपरेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई आगामी माघ १२ मा हुने राष्ट्रियसभाको रिक्त सिटको निर्वाचनमा समेत संकट देखिएको छ ।
राष्ट्रियसभामा रिक्त १९ मध्ये एमालेको ८ सिट हत्याउन गठबन्धनको दाउपेचमा उत्रिँदा एमालेलाई आफ्नो सिट जोगाउन धौ–धौ पर्दै गएको छ ।सात महिला, तीन दलित, दुई अपांगता र सात अन्य विभिन्न समूह गरी आयोगले गर्ने निर्वाचनका लागि ९ दलबाट ४३ जनाको उम्मेदवारी परेको छ ।
चुनावका लागि एमाले १९, नेपाली कांग्रेस ६, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट पाँच–पाँच, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी दुई–दुई, जनता समाजवादी पार्टी दुई, लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय जनमोर्चाबाट एक÷एक जनाले उम्मेद्वारी दिएका हुन् ।
तर, एमालेको रिक्त सिटमा समेत गठबन्धनको तर्फबाट कांग्रेस तीन, जसपा दुई, माओवादी केन्द्र, नेकपा एस र जनमोर्चाले एक÷एक सिट पाउने गरी भागबन्डा गरेपछि प्रतिपक्ष एमालेलाई आफ्नो सिट जोगाउन सकस पर्ने देखिएको छ ।
अब प्रदेशमा हेरौं । स्थानीय तहका १४ सय ९३ जना र प्रदेश सभाका ५ सय ३२ जना गरी २ हजार २५ जना मतदाता कायम रहेकोमा प्रदेश सभा सदस्यको मतभार ४८, गाउँपालिका तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ ।
जसमध्ये ९२ प्रदेशसभा सदस्य र स्थानीय तह गरी २ सय ७२ मतदाता रहेको प्रदेश एकमा कुल मतभार ९ हजार ३ सय १२, १ सय ४ प्रदेशसभा सदस्य र स्थानीय तहमा २ सय ६८ जना मतदाता रहेको प्रदेश २ मा ९ हजार ८ सय १६ मतभार छ ।
यसैगरी १ सय ९ प्रदेशसभा सदस्य र स्थानीय तहमा २ सय ३७ मतदाता रहेको बागमती प्रदेशमा ९ हजार ४ सय ९८ मतभार रहेको छ । ५९ प्रदेश सभा सदस्य र स्थानीय तहमा १ सय ७० मतदाता रहेको गण्डकीमा ५ हजार ८ सय ९२ मतभार छ ।
त्यसैगरी, ८१ प्रदेशसभा सदस्य र स्थानीय तहतर्फ २ सय १५ मतदाता रहेको लुम्बिनी प्रदेशमा ७ हजार ७ सय ५८ मतभार तथा ३५ प्रदेशसभा सदस्य र स्थानीय तहतर्फ १ सय ५६ मतदाता रहेको कर्णाली प्रदेशमा ४ हजार ४ सय ८८ मतभार छ ।
५२ प्रदेशसभा सदस्य र स्थानीय तहतर्फ १ सय ७५ मतदाता रहेको सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ सय ४६ मतभार छ ।
प्रदेशसभा सदस्यहरुमा अंकगणतिय समीकरण हेर्ने हो भने प्रदेश एकमा एमाले भन्दा गठबन्धन बलियो देखिए पनि अन्य दलको सामान्य सहयोगमा उसले जीत कायम राख्न सक्छ । प्रदेश २ मा एमाले भन्दा ३४ सय बढी मतभारले गठबन्धन अघि हुँदा बागमतीमा एमालेभन्दा ७ सय ६८ मतभारले गठबन्धन अघि छ ।
यस्तै, गण्डकी प्रदेशमा स्वतन्त्र सांसद दिपक मनाङेले गठबन्धनमा साथ दिए २ सय ४० मतभारले एमालेभन्दा अघि गठबन्धन रहनेछ । लुम्बिनी प्रदेशमा एमालेभन्दा गठबन्धन ३ सय ३६ मतभारले अघि छ । कर्णालीमा ३ सय ८४ मतभारले गठबन्धन अघि हुँदा सुदूरपश्चिममा एमाले १३ सय ९२ मतभार पछि छ ।
सरसर्ती हेर्ने हो भने प्रदेश एक बाहेक ६ वटा प्रदेशमा एमाले कमजोर देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्