
सर्लाही । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सबै प्रकारका भ्रष्टाचारको छानविन हुनुपर्ने बताउनुभएको छ ।
जिल्लाको ईश्वरपुर–४ सागरनाथ खाल्टे बजारमा नेपाली कांग्रेस सर्लाही क्षेत्र १ को धन्यवाद ज्ञापन एवं पदस्थापन समारोहमा सम्बोधन गर्दै उपसभापति गुरुङले कांग्रेस नेतृत्वको सरकारले सबै प्रकारको भ्रष्टाचार छानविन गर्नुपर्ने बताउनुभयो ।
भ्रष्टाचारको मुद्दा जात, धर्म र मुख हेरेर चलाउन नहुने उहाँको भनाइ छ ।
फरक प्रसङ्गमा उपसभापति गुरुङले नेताहरूले आफ्नो आचरण बदल्नुपर्ने बताउनुभयो । उहाँले कार्यक्रमहरुमा माला र खादामा ठूलो खर्च हुने भएकाले त्यस्तो खर्च कटौती गर्नुपर्नेमा जोड दिनुभयो ।
‘कार्यक्रमहरुमा ब्याच, माला र खादामा ठूलो रकम खर्च हुने गरेको छ,’ उहाँले भन्नुभयभो, ‘खादा र मालाले पुरिएर आँखासमेत नदेखिने गरी कार्यक्रममा जाने परिपाटी अन्त्य हुन आवश्यक छ ।’
राजनीतिमा लागेका मानिस समाजको ऐना भएकाले समाज परिवर्तनको लागि राजनीतिज्ञ परिवर्तन हुनुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा १ सय ५० भन्दा धेरै व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेको सर्लाही क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति हरिबहादुर लुङ्गेलीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्