१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


साँढे ४ वर्षमा भरतपुर महानगरले बनायो ११४ वटा कानुन


130
Shares

चितवन । चितवनको एकमात्रै महानगरपालिका भरतपुरले साँढे ४ वर्षको अवधिमा ११४ वटा कानुन निर्माण गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीका अनुसार ऐन २२ वटा, कार्यविधि ६६ वटा, नियमावली ६ वटा, निर्देशीका १२ वटा र मापदण्ड ११ वटा निर्माण गरिएको हो ।

पछिल्लो समय भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान गठन ऐन २०७८ पारित गरिएका उहाँको भनाई छ । नेपालको संविधान २०७२ को अनूसुची ८ अनुसार २२ वटा क्षेत्रमा ऐन नियम बनाएर कार्यान्वयन गर्ने अधिकार दिएको छ । नेपालभर सवैभन्दा धेरै ऐन नियम निर्माण गर्नेमा पहिलो स्थानमा आउने सुवेदीको भनाइ थियो ।

त्यस्तै महागनरले जेष्ठ पत्रकार निवृत्तिभरणका लागि अक्षयकोष स्थापना गर्न २० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । साथै चाँडै सवै प्रकारका सुकुम्वासीहरुलाई लालपुर्जा वितरण गर्ने बताउँदै महानगरमा १० हजार २९ जनाको लगत संकलन गरेको बताउनुभयो । मेयर दाहालका अनुसार पौष २३ गते भुमि आयोगसँग सम्झौता गर्न जाने निर्णय भएको जानकारी दिनुभयो ।

साथै दीर्घकालिन फोहोर व्यवस्थापनको कार्यमा ढिलाई भएको स्वीकारर्दै कोरिया सरकारको १ अर्ब २५ करोड रुपैयाँ अनुदान र प्रविधि आउने भएकाले केही वर्ष पर्खिएको बताउनुभयो । यही महिनाको अन्तिमतिर जिटुजि सम्झौता मार्फत वैज्ञानिक फोहोर व्यवस्थापनको कार्य अघि बढाउने उहाँको दावी थियो ।

उहाँले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको रंगशाला महानगरले जिम्मा लिने बताउँदै अहिले आर्थिक सहित भौतिक प्रगति आदिको प्रतिवेदन माग गरेको जानकारी दिनुभयो । स्वामित्व ग्रहणका लागि महानगरलाई पत्र आएको र खेलकुद मन्त्रालयबाट बजेट मिलाएर बहुवर्षीय प्रणालीमा लगेर निर्माण सक्ने योजनामा महानगर रहेको उहाँको भनाई थियो ।

ऋण भने मन्त्रालयले तिर्नेगरी छलफल भइरहेको उहाँले बताउनुभयो । उपप्रमुख पार्वती शाह ठकुरीले संविधान मातहत रहेर न्यायिक समितिले आफ्नो काम कारवाही सफलतापूर्वक गरिरहेको बताउनुभयो । यो अवधिमा १०१ वटा मुद्दा समितिमा दर्ता भएको र फैसाला गर्दै आएको जानकारी दिनुभयो ।