
काठमाडौं । पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आगामी माघ ८ गतेसम्मका लागि सारिएको छ ।
गत साता आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले पदाधिकारी चयनका लागि यही पुस २५ गतेका लागि केन्द्रीय समिति बैठक राखेको थियो । केही नेता बिरामी परेको तथा पार्टी कार्यालयका केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले बैठक स्थगन गरिएको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पार्टी केन्द्रीय कार्यालयका पाँच कर्मचारीमा कोरोना सङ्क्रमण पाइएको छ । पार्टीका केही नेता तथा कार्यालयका कर्मचारीमा समेत सङ्क्रमण देखिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटघाट बन्द गराउनु भएको छ ।
यही पुस १८ गते सम्पन्न माओवादीको महाधिवेशनले २३७ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । यही पुस २५ गते बस्ने केन्द्रीय समिति बैठकबाट माओवादीले पदाधिकारी चयन गर्ने तयारी गरेको थियो ।
यसअघि यही पुस १९ गते बसेको माओवादीको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्षमा दाहाललाई निर्विरोध निर्वाचित गरेको थियो । माओवादीको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । विधानअनुसार माओवादीले अब एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष निर्वाचित गर्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्