
काठमाडौं । हेर्दा चम्किलो र मिलेको दाँत कसलाई मन पर्दैन र ! स्वथ्य र मिलेका दाँतले सुन्दरतामा अझ निखार ल्याउँछ । तर, हामीले खाने खानेकुरा र उचित हेरचाहको अभावले दाँतमा समस्या आउने गर्छ ।
धेरै चिसो, धेरै तातो र धेरै अमिलो खानेकुराले दाँतमा समस्या देखिने दन्त चिकित्सकहरू बताउँछन् । आज हामीले चिसो महिना र अन्य समयमा कसरी दाँतको विशेष हेरचाह गर्ने भन्ने विषयमा ललितपुरको भैंसीपाटीस्थित अलराइट डेन्टल केयर प्रालिकी सञ्चालक एवं डाक्टर सूर्या थापासँग कुराकानी गरेका छौं ।
थापा डाक्टर मात्र नभएर अभिनेत्री तथा मोडल पनि हुन् । डाक्टरीसँगै मोेडलिङ र अभिनय पनि गर्दै आएकी उनले ‘शुभ लभ’ चलचित्रका साथै विभिन्न म्युजिक भिडियोमा अभिनय गरेकी छन् । प्रस्तुत छ डाक्टर तथा मोडल थापासँग दन्त चिकित्सा र उनको मोडलिङ यात्राबारे ईमेजखबरका लागि वर्षा पोखरेल र कलशा पोखरेलले गरेको कुराकानीको सम्पादित अंश :
जाडोमा दाँतको हेरचाह कसरी गर्ने ? चिसो पानीले पनि दाँत सिरिङ्ग हुने गर्दछ, यसको कारण के होला ?
दाँतमा ३ वटा पत्र हुन्छन् । सबैभन्दा बाहिरको पत्रलाई इनामेल, त्यो भन्दा भित्रको पत्रलाई डेन्टिन र सबैभन्दा भित्रको पत्रलाई पल्प भन्ने गरिन्छ । जब इनामेल खिइन्छ, दाँत किराले खान्छ, दाँतहरूको बीचमा घर्षण पैदा भएर डेन्टिनमा असर गर्छ । यसले गर्दा धेरै चिसो वा तातो खाँदा दाँत सिरिङ्ग हुन्छ । चिसो समयमा चिसो पानीको सट्टा मनतातो पानी पिउने र धेरै चिसो खानेकुरा नखाने गर्नुपर्छ ।
दाँत दुख्दा घरमा नै बसेर उपचार सम्भव छ ? यदि छ भने कसरी गर्न सकिन्छ ?
दाँतको उपचार घरमा बसेर सम्भव छैन । साना समस्याहरूको भने घरायसी उपचार गर्न सकिन्छ । जस्तै, गिजा हल्का सुनिएको छ या सानो घाउ भएको छ भने मनतातो नुनपानीले कुल्ला गरेर मलम लगाउन सकिन्छ । तर, ठूला समस्याहरू दन्त चिकित्सकाे परामर्शमा मात्र गर्नुपर्छ । दाँत दुखेको ठाँउमा ल्वाङको तेल प्रयोग गर्नु हानिकारक हुन्छ ।
दाँतको उपचार महंगो छ भन्छन् नि, हो ?
दाँतमा रोग लाग्नै नदिनु सबैभन्दा राम्रो उपचार हो । तर, दाँतको उपचार अन्य उपचारको तुलनामा महङ्गो नै हुने गर्छ । सुरुको अवस्थामा दाँत दुख्ने बित्तिकै उपचार गरियो भने त्यति धेरै महंगो पर्दैन तर, दाँतमा इन्फेक्सन भएको अवस्थामा भने उपचार महंगो हुन जान्छ । रुट क्यानल, दाँतमा कभर लगाउनुपर्ने र नक्कली दाँत नै राख्नुपरेको खण्डमा महंगो पर्न जान्छ ।
खासगरी दाँत के कारणले दुख्छ ?
किराले खाएर खाल्डो बनाएको दाँतको बेलैमै उपचार नगर्नु दाँत दुख्नुको मुख्य कारण हो । दाँतमा परेको खाल्डो बढेर पल्पसम्म पुग्दा दाँत दुख्ने समस्या हुन्छ । मुखमा सानो–सानो घाउ खटिरा आउँदा पनि दाँत दुख्छ । हर्मोनहरूको परिर्वतन हुँदा, कुनै खानेकुराको एलर्जी हुँदा र धेरै तातो खानेकुराले मुखको छाला खुइलिन्छ । चपाउन कडा हुने खानेकुराले पनि दाँत दुख्ने समस्या देखिन्छ । बुद्धि बङ्गारा आउँदा पनि दाँत दुख्छ ।
आरसीटी गर्दा दाँत मर्छ, नसा राख्नुपर्छ भनिन्छ ? खास के हो ?
आरसीटी गर्दा मात्र नभइ इन्फेक्सन हुँदा पनि दाँत मर्ने गर्छ । कहिलेकाहिँ ठोकिएर पनि दाँत मर्न सक्छ । यस्ता ठोकिएका दाँतको रङ परिर्वतन हुन्छ । इन्फेक्सन भएको र किराले जरैसम्म खाएको दाँतको नसा मरिसकेको हुन्छ र पिप जम्छ । जसलाई औषधिले निको बनाउन सक्दैन । त्यसैले यो नसालाई निकाल्नै पर्छ । इन्फेक्सन नहोस् भनेर आरसीटी गर्दा नसालाई झिकेर खाली ठाउँमा जरैबाट सिमेन्ट भरिन्छ ।
आजकल धेरै मानिस गिजा सुनिने, रगत आउने, श्वास गन्हाउने समस्याबाट पनि ग्रसित छन् । यस्तो चाहिँ के कारणले हुन्छ ?
यस्ता समस्याको मुख्य कारण भनेको मुखको सरसफाइमा विशेष ध्यान दिन नसक्नु हो । हामीले ब्रस गर्दा कुनासम्म सफा हुने गरी माझ्नुपर्छ । दाँतमा अड्किएर बसेको खानेकुरा सडेर त्यहिँ बस्छ । जसले गर्दा मुख गन्हाउँछ । खानेकुराहरू दाँतमा सडेर बस्दा व्याक्टेरियाले टक्सीन बनाउँछ । त्यसैले गर्दा पनि गिजा सुनिने, रगत आउने समस्याहरू देखिन्छ । श्वास गन्हाउनुको मुख्य कारण भनेको खानपान हो । लसुन, प्याज बढी खाँदा, शरीरका अन्य रोगहरू र धेरै समय भोको बस्दा पनि श्वास गन्हाउने समस्या देखिन्छ ।
दाँतको समस्यामा रुट क्यानल भनेको धेरै सुनिन्छ, सामान्य भाषमा यसलाई कसरी बुझ्न सकिन्छ ?
दाँतको जरा देखिनै उपचार गर्ने पद्धतिलाई रुट क्यानल भन्ने गरिन्छ । दाँतका धेरै नै समस्या भएको र इन्फेक्सनले पल्प नसालाई छोइसकेको अवस्थामा त्यस्ता विरामीको जराबाट नै उपचार गर्नुपर्ने हुन्छ । दाँत जुन जरामा बसेको हुन्छ त्यसको सबै नसा झिकेर जरादेखि उपचार गर्ने कामलाई रुट क्यानल उपचार भनिन्छ ।
अब प्रसङ्ग बदलौं, तपाईं एकातिर दन्त चिकित्सकका साथै नायिका पनि हुनुहुन्छ, कलाकारिता क्षेत्रमा दिने समय कसरी मिलाउनुहुन्छ ?
हाहाहा… अलि अप्ठ्यारो प्रश्न गर्नुभयो । (एकछिन रोकिएर) दुईतिर समय मिलाउन गाह्रो नै हुन्छ । आकस्मिक विरामीहरूको उपचारपछि मोडलिङ र अभिनयमा समय दिन्छु । अभिनयको लागि समय निकालेको समयमा अर्को डाक्टरलाई राख्छु । अधिकांश समय उपचारमा दिनुपर्ने भएकाले अभिनयका लागि खासै समय दिन पाउँदिन ।
चिकित्सा र मोडलिङ दुई क्षेत्रमा आवद्ध हुनुहुन्छ । यीमध्ये कुन पेशामा बढि रुचि छ ?
मलाई दुवै क्षेत्र मनपर्छ । यता बसेर दाँतको काम गरिरहँदा विरामीहरूको दुखाइको पीडालाई कम गर्न पाउँदा सेवा गरेको महसुस हुन्छ र खुसी लाग्छ । जब अभिनयको लागि जान्छु, आफूलाई समय दिएको महसुस हुन्छ ।
अब आउने नयाँ प्रोजेक्ट केहि छ ?
दुई साता अघि एउटा म्युजिक भिडियो सुटिङ भएको छ । भिडियो दुई महिनामा रिलिज हुन्छ । कोभिडको कारणले गर्दा अरू कुनै प्रोजेक्ट छैन ।
सजिलोका हिसाबले यी दुई क्षेत्रमध्ये रोज्नुपर्यो भने कुन पेसालाई रोज्नुहुन्छ ?
कलाकारिता क्षेत्र बढी सजिलो लाग्छ । अभिनय गर्दा मनोरञ्जन हुने भएकाले फ्रेस महसुस गर्छु । तर, यता स्वास्थ्यसँग जोडिएकाले शारीरिक र मानसिक रूपमा सक्रिय हुनुपर्छ, जहाँ जोखिम धेरै हुन्छ । आफ्नो कला देखाउने भएकाले अभिनय गर्न सजिलो लाग्छ ।
अब फेरि दाँतको प्रसङ्गमै फर्किऔं, दाँत दुखेको समयमा के–के खानुपर्छ र के–के खानुहुँदैन ?
दाँत दुख्दा एकदमै चिसो र एकदमै तातो खानेकुरा खानुहुँदैन । कडा खानेकुराहरू नखाने, मासु खाँदा हाड नचपाउने, सुपारी, मकै जस्ता कडा खानेकुरा पनि नखाँदा राम्रो हुन्छ । दाँत दुखेको समयमा नरम खानेकुरा खाएर मनतातो पानीको प्रयोग गर्नुपर्छ । नेपाली समाजमा दाँत दुख्दा ल्वाङको तेल लगाउने प्रचलन छ । जुन एकदम गलत हो । ल्वाङको तेलको प्रयोगले दाँतको वरिपरिको गिजा र छालालाई पोल्ने, घाउ हुने हुन्छ । एकैछिन आराम मिले पनि यो हानिकारक छ ।
दाँतलाई किराले खान्छ भन्छन्, गाउँघरतिर दाँतबाट किरा झारेको भन्ने पनि सुनिन्छ, खास कुरा के हो ?
दाँत किराले खान्छ । आखाँले देख्न नसकिने व्याक्टेरियालाई किरा भनेर सम्बोधन गरिएको हो । चल्ने किरा वा औंसालाई दाँतबाट झारिएको भन्नु चाहिँ गलत हो, ठगी धन्दा मात्र हो । विशेषगरी गुलियो खानेकुरा खाँदा दाँतमा अड्किन्छ । अड्किएका खानेकुराले इनामेललाई असर गर्दै जाँदा खाल्डो बन्दै जान्छ । त्यसलाई नै किराले खाएको भनिन्छ ।
दाँतको आयू कति हुन्छ ?
दाँतलाई स्याहार सुुसार गर्ने, सरसफाइमा राम्रोसँग ध्यान दिने र समय–समयमा दन्त चिकित्सकसँग परामर्श लिँदा दाँतको आयू बढ्छ । शरीरको अन्य रोगलाई पनि नियन्त्रण गर्न सकिएमा दाँतको आयू मानिसको आयूजतिनै हुन्छ ।
दाँतको सौन्दर्य कसरी बढाउन सकिन्छ ?
दाँतको सौन्दर्य बढाउनका लागि दाँतको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । ब्रस मात्र नभएर फ्लस पनि गर्नुपर्छ । फ्लस भनेको दाँतमा धागो राखेर दाँतमा अड्किएको खानेकुरा निकाल्नु हो । यस्तो धागो डेन्टल क्लिनिकमा पाइन्छ । मिलेको दाँतले सौन्दर्यलाई अझै निखार्छ । जसका लागि बाङ्गो दाँतलाई दन्त चिकित्सकोमा गएर मिलाउन सकिन्छ ।
सुर्ती खाँदा दाँत बलियो हुने र दाँत दुखेको समयमा खाँदा निको हुन्छ भन्ने गर्छन्, यसमा कति सत्यता छ ?
सुर्ती खानु गलत हो । सुर्ती, चुरोट र परागले मुखको क्यान्सर गराउन सक्छ । सुर्ती खाने मानिसको दाँतलाई गिजाले छोड्दै गएको हुन्छ । सुर्तीसँग मिसाइने चुनाले झन् दाँत र गिजालाई असर गर्छ । त्यसैले यो सबै मिथ्या हो ।
के कुराले दाँतलाई हानी गर्छ ?
खासगरी गुलियो खानेकुरा, मैदाबाट बनेको दाँतमा टाँसिने खानेकुराले दाँतलाई हानी गर्छ । चिसो पेय पदार्थ, अमिलो फलहरू, सुर्तीजन्य पदार्थ र सुपारीले पनि दाँतलाई नराम्रो असर गर्छ । यस्ता खानेकुरा खाएपछि तुरुन्तै मुख कुल्ला गर्ने र ब्रस गर्ने गर्नुपर्छ । अमिलो फलहरूले दाँतको इनामेललाई असर गर्ने भएकाले मुखमा दाँतमा नलाग्ने गरेर खानुपर्छ ।
प्रतिक्रिया दिनुहोस्