३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


देउवाले आफूखुसी गर्न खोजे आगामी निर्वाचनमा पार्टीले हार्नसक्छ : शेखर कोइराला


169
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले आफुखुसी गर्न खोजे पार्टीले आगामी निर्वाचनमा हारको सामना गर्नसक्ने चेतावनी दिनुभएको छ ।

सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेता कोइरालाले सभापति देउवाले म सबैको हुँ भने पनि विश्वासको वातावरण नबनेको बताउनुभयो । विधानमा भएको व्यवस्थालाई गलत रूपमा प्रयोग गरेर केन्द्रीय सदस्य नियुक्त गरेको उहाँको जिकिर छ ।

कोइरालाले सभापति यसरी नै हिड्ने हो भने पार्टीले स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन जित्न नसक्ने बताउनुभयो । यदि त्यस्तो अवस्था आएमा यसको जिम्मेवारी कसले लिने भनि प्रश्न गर्नुभयो । आगामी चुनावमा कांग्रेस एक्लै चुनाव लड्ने उहाँको भनाइ छ ।

फरक प्रसङ्गमा कोइरालाले आम नेपाली जनतामा एमसीसी बारे फैलिएको त्रास चिर्न संसदमार्फत छलफल गरेर निर्णय लिनुपर्ने बताउनुभयो ।

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तव्यस्त रहेको भन्दै उहाँले अवरुद्ध संसद सुचारु गर्न कांग्रेस र एमालेले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

नेता कोइरालाले न्यायपालिकामा देखिएको समस्याको प्रधानन्यायाधीशले स्वयं निकाश खोज्नुपर्ने धारणा राख्नुभयो ।