१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ओमिक्रोनको कारण प्रर्दशन मिति परिवर्तन गर्दै बलिउड सिनेमा


221
Shares

एजेन्सी । सन् २०२१ मा कोरोनाको महामारीका कारण अधिकांश सिनेमा हलहरु प्रायः बन्द भए । कोरोनाबाट तंग्रिदै गएको चलचित्र क्षेत्रहरुले केही बजार पाउने आशा भएरै सिनेमा हलहरु पनि खुले ।

तर, सिनेमा निर्माता तथा कलाकारको त्यो खुशी धेरै समय टिक्ने देखिएको छैन । किन भने सन् २०२२ सुरु भएसँगै कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन विश्वभरि द्रुत गतिमा फैलिरहेको छ ।

पछिल्लो समय भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बढ्दै गएपछि सिनेमा हलहरु बन्द भएका छन् । सिनेमा हलहरु बन्द हुँदै गएपछि निर्माताहरुले फिल्म रिलिजको मिति तय भएपनि सार्न थालेका छन् ।

सन् २०२२ मा रिलिज हुन लागेका ठूला बजेटमा निर्माण हुन लागेका सिनेमा (फिल्म) अधिकांश छन् । जसको प्रतिक्षामा दर्शकहरु थिए । भारतीय कलाकारहरु आफ्ना फिल्म लिएर सन् २०२२ मा आउने तयारीमा थिए । ओमिक्रोनका कारण ती फिल्म रिलिज हुने नहुने अन्योल मै छ ।

यस्ता छन् २०२२ मा रिलिजको तयारीमा रहेका भारतीय ठूला फिल्म :

१. आमिर खान ४ बर्ष पछि
करिब चार वर्ष पछि आमिर खान फेरी पर्दामा देखिने भएका छन् । उनी आफ्नो फिल्म लाल सिहं चड्ढा लिएर सन् २०२२ मा देखिने तयारीमा छन् । उनको यो फिल्म हलिउड फिल्म फरेस्ट गम्पको भारतीय रुपान्तरण हो । फिल्ममा आमिर खान सिख व्यक्ति भूमिकामा देखिने भएका छन् । कोरोना महामारीको कारण यो फिल्म एक वर्ष पछाडी सारिएको थियाे। अद्धैत चन्दनद्वारा निर्देशित लाल सिहं चड्ढामा करिना कपूरको महत्वपूर्ण भूमिकामा देखिने छिन् । फिल्म १४ अप्रिल २०२२ मा रिलिज हुनेछ ।

२ . एक वर्षमा ४ फिल्म
हरेक बर्ष ४ ओटा फिल्ममा देखिने अक्षय कुमार सन् २०२२ मा पनि ४ वटा फिल्मको तयारीमा छन् । उनको अब आउने फिल्म ऐतिहासिक भूमिकामा आधारित पृथ्वी राज चौहान २१ जनावरी २०२२ मा रिलिज हुनेछ । आनन्द एल रायको निर्देशनमा अक्षय कुमारको अर्को फिल्म रक्षाबन्धन ११ अगस्ट २०२२ मा रिलिज हुने खबर बाहिरिएको छ । उनको रामसेतु र ओ माइ गड-२ को सुटिङ चलिरहेको छ । यो पनि उनको २०२२ मा आउने फिल्महरु हुन् । सन् २०२१ मा रिलिज भएको सुर्यवशीं फिल्मले करिब एक सय करोड आम्दानी गरेको बताइएको छ ।

३ . अजय देवगन साउथ फिल्ममा
बाहुबलीको अपार सफलतापछि निर्देशक एस. एस. राजामौलि आरआरआर लिएर आउँदैछन् । जसमा जुनियर एनटीआर, रामचरण, आलिया भट्ट र अजय देवगन मुख्य भूमिकामा देखिने भएका छन् । यो फिल्म सन् २०२२ जनावरी ७ का दिन रिलिज हुने भनिएता पनि ओमिक्रोनको त्रासको कारण फिल्मको रिलिज मिति अनिश्चितकालका लागि सारिएको छ । अजय देवगनको स्पोष्र्ट ड्रामा मैदान ३ जुन २०२२ मा र इन्द्र कुमारद्वारा निर्देशित फिल्म थ्यांक गड २९ जुलाई २०२२ मा रिलिज हुनेछ । यो फिल्ममा सिद्धार्थ मल्होत्रा र रकुलप्रित पनि रहेका छन् ।

४. अमिताभ बच्चन अझै व्यस्त
भारतीय फिल्म जगतमा माहानायक भनेर चिनिने अमिताभ बच्चन अहिले पनि व्यस्त कलाकार मानिन्छन् । उनको यो वर्ष पनि फिल्म आउने भएको छ । बहुचर्चित साइन्स फिक्सन फिल्म ब्रम्हास्त्र ९ सेप्टेम्बर २०२२ मा रिलिज हुनेछ । यो फिल्ममा रणबीर कपूर र आलिया भट्ट एकसाथ देखिने भएका छन् । निर्देशक नागराज मन्जुलेसँग झुन्ड फिल्ममा अमिताभ बच्चन देखिनेछन् । विकास बहलको निर्देशनमा रहेको फिल्म गुडबाइमा अमिताभ बच्चन र निना गुप्ता रहेका छन् । यी दुवै फिल्मको रिलिज मिति भने सार्वजनिक भएका छैनन् ।

५‍‍. महिला प्रधान फिल्म
सन् २०२२ मा धेरै महिला प्रधान फिल्म बनेका छन् । सजंय लिला भंसालीको निर्देशनमा रहेको गंगुबाई काठीयावाडी फिल्ममा आलिया भट्ट मुख्य भूमिकामा रहेकी छिन् । उनको यो फिल्म १८ फेब्रवरी २०२२ मा रिलिज हुने तयारीमा छ ।

कंगना रानाभाटद्वारा अभिनित फिल्म तेजस एक साहसी महिला फाइटर पाइलटको काहानीमा आधारित छ । यो फिल्म ५ अक्टोबर २०२२ मा रिलिज हुनेछ । फेब्रबरि २०२२ मा तापसि पन्नुको महिला प्रधान फिल्म साबास मिठु रिलिज हुने भएको छ । जसमा तापसि भारतीय महिला क्रिकेट टिमकी कप्तान मिताली राजको भुमिकामा देखिने छिन् ।

यस्तै, उनको होम प्रोडक्सन फिल्म ब्र्लर को रिलिज मिति सार्वजनिक भएको छैन् । त्यस्तै, रानी मुखर्जी आशिमा छिब्बबरको फिल्म मिसेज चटर्जी भर्सेस नर्वेमा देखिने छिन् । यो फिल्म सन् २०११ मा नर्वेमा भएको घटनालाई आधार मानेर बनाइएको छ । २० मे २०२२ मा यो फिल्म रिलिज हुँदैछ ।