
बिराज रोस्यारा (इमेज)
कैलाली, साउन २१ । ७ नम्बर प्रदेशको नाम र स्थायी राजधानीबारे सुझाव दिन गठित संसदीय समितिको समयावधि एक साता थप गरिएको छ ।
सरोकारवाला पक्षसँग छलफल गर्न बाँकी रहेको भन्दै समय थपका लागि अनुरोध आएकाले एक साता थप गरिएको सोमबारको प्रदेशसभा बैठकमा सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।
स्थायी राजधानी र नामाकरणका लागि सुझावसहितको प्रतिवेदन दिन प्रदेशसभाले यही साउन १४ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङ संयोजक रहेको ५ सदस्यीय समिति गठन गरेको थियो ।
समितिलाई साउन २१ गतेभित्र प्रतिवेदन पेस गर्न समय दिइएकामा प्रतिवेदन पेश गर्न नसकेपछि थप समय दिइएको हो ।
सुझाव समितिका संयोजक तामाङले छोटो अवधि भएकाले सरोकारवाला सबै पक्षसँग छलफल गर्न नसकिएपछि समयावधि थपका लागि आग्रह गरिएको बताए ।
प्रदेशसभा सदस्य, प्रदेश सरकारका मन्त्री र अरु सरोकारवालासँग छलफल बाँकी रहेको तामाङले बताए ।
नाम र राजधानीबारे समितिले सर्वसम्मत् सिफारिस गर्नेगरी प्रयास गरिने उनको भनाइ छ ।
सो सम्बन्धमा समितिले यस क्षेत्रका संघीय संसदका सदस्य र यहाँका नेताहरुसँग छलफल गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्