१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना संक्रमण बढेपछि माघ १५ सम्म विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

विद्यालय बन्द गर्ने/नगर्नेबारे शिक्षा मन्त्रालय अन्यौल

481
Shares

काठमाडौं । कोभिड–१९ संक्रमण रोकथामका लागि बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्नका लागि गरेको सिफारिस बारे शिक्षा मन्त्रालयले आज निर्णय गर्ने भएको छ ।

सीसीएमसीको सिफारिस मन्त्री परिषद मार्फत मन्त्रालयमा आएपछि आवश्यक छलफल गरेर निर्णय लिने शिक्षा मन्त्रालयले बताएको छ । सीसीएमसीले सरोकारवालाहरुसँग सामान्य छलफल समेत नगरेको भन्दै विद्यालय संचालकहरुले असन्तुष्टि जनाएका छन् भने विद्यार्थी पनि अन्योलमा परेका छन् ।

सीसीएमसीको आइतबार साँझ बसेको वैठकले सोमबारदेखि लागू हुने गरी विद्यालय बन्द गर्ने सिफारिस गरेको थियो । त्यस्तै सीसीएमसीले अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने तथा मेला महोत्सव रोक्नका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

यस्तै आगामी माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङ मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनु पर्ने भएको छ ।

सीमा नाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ । प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने गरी बैठकले निर्णय गरेको छ । पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले अरु क्षेत्रभन्दा पहिले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।