१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बढ्दै संक्रमण : मास्कसमेत लगाउँदैनन् काठमाडाैंकै सर्वसाधारण, साेध्दा अनेक बहाना


624
Shares

दीपक श्रेष्ठ/गृष्मा राजभण्डारी
काठमाडाैं । केही दिनयता ह्वात्तै बढेको कोरोना संक्रमणले तेस्रो लहरको संकेत दिइसकेको छ । कतिपय विज्ञहरूले नयाँ ओमिक्रोन भेरियन्ट समुदायस्तरमै फैलिसकेको चेतावनी पनि दिएका छन् ।

कोरोनाविरुद्धको खोप लगाएकाहरू पनि संक्रमित भइरहेका छन् । मास्कको अनिवार्य प्रयोगले संक्रमणको जोखिमलाई कम गर्छ । तर, मुलुककै राजधानी काठमाडौंको सार्वजनिक स्थानमा मानिसहरूको मुखमा मास्क देखिँदैन ।

ओमिक्रोन भेरियन्टको त्रासले नेपाल सरकारले महामारी नियन्त्रणका लागि विभिन्न खाले प्रतिबन्ध लगाउने तयारी गरिरहँदा राजधानी काठमाडौंकै नागरिकले स्वास्थ्य मापदण्ड पालनामा हेलचक्राइँ गरेको पाइन्छ ।

अन्य स्थानकाे भन्दा शिक्षित भनिएका यहाँका स्थानीयकाे याे अवस्थाले समग्र देशकै प्रतिनिधित्व गर्छ ।

मानिसको बाक्लो उपस्थिति हुने बसपार्क, सार्वजनिक सवारीसाधनमा चढ्ने यात्रु हुन् वा चालक, मास्क नलगाएर निस्फिक्री देखिन्छन् । अधिकांश पैदलयात्रु स्वास्थ्य मापदण्डको बेवास्ता गर्दै विना मास्क हिँडिरहेका छन् ।

त्यसो त मास्क लगाउनुपर्छ र अनावश्यक भीडभाड गर्न हुन्न भन्ने ज्ञान नभएको पनि होइन । केहीले भने क्यामरा अघि आउनबित्तिकै मास्क लगाए । सार्वजनिक यातायातमा काम गर्ने एक सहचालक, यात्रुलाई मास्क लगाउन अनुरोध गर्दा उल्टो गाली खानुपरेको गुनासो गर्छन् ।

संक्रमणबाट जोगिन मास्क अनिवार्य लगाउनुपर्छ भन्दै सरकार, रेडियो, टेलिभिजनले फुक्न थालेको दुई वर्ष पुगिसक्यो । तर पनि अवस्था भने उस्तै छ । मास्क नलगाउनुको कारण सोध्दा सर्वसाधारणका अनेक बहाना गर्छन् । सबैको आफ्नै व्यथा, आफ्नै पिर ।

पहिलो चरणको कोरोनाको समयमा मास्क अनिवार्य अभियान पनि चलाइएको थियो । केही दिन यसको सकारात्मक प्रभाव परे पनि मानिसको लापरबाही पुनः दोहोरिने गरेको छ । मास्क नलगाए के गर्ने भन्ने कुनै स्पष्ट कानून पनि नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल बताउनुहुन्छ ।

समाजका हरेक व्यक्ति सचेत नभएसम्म महामारी नियन्त्रण सम्भव छैन । त्यसैले कोरोनालाई सामान्य नठानौं ।