२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एमाले पर्वतमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा पौडेल


481
Shares

पर्वत । नेकपा (एमाले) पर्वतको अध्यक्षमा राजु पौडेल सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ ।

एमालेका प्रदेश कमिटी सदस्य तथा महाशिला गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका पौडेललाई अध्यक्ष मण्डलले सर्वसम्मत रुपमा अध्यक्षको रुपमा घोषणा गरेको हो ।

पर्वतको महाशिला गाउँपालिका–५ निवासी पौडेल यसअघि आठौं जिल्ला अधिवेशनमा अहिलेका केन्द्रीय सदस्य पदम गिरीसँग झिनो मतले पराजित हुनुभएको थियो ।

त्यसअघि उहाँ नेकपा एमाले पर्वतको उपाध्यक्ष लगायत विभिन्न पदमा बसेर काम गर्नुभएको थियो ।

त्यसैगरी उपाध्यक्षमा फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा, सचिवमा गोविन्द पहाडी, सहसचिवमा शिव पौडेल र विमल लामिछाने निर्विरोध निर्वाचित हुनुभएको छ ।

नवौं जिल्ला अधिवेशनवाट ९० जनाको जिल्ला कमिटी नै सर्वसम्मत चयन गरिएको अध्यक्ष मण्डलका संयोजक कल्पना चापागाईंले जानकारी दिनुभयो । जिल्लाका सातवटै स्थानीय तहबाट मिलाएर सदस्यहरू छनोट गरिएको बताइएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई आजै पद तथा गोपनियता सपथग्रहण गराइएको छ ।

यसअघि अध्यक्षमा लगायत पदाधिकारीमा अन्य व्यक्तिहरूले पनि आकांक्षा राखेपछि नेतृत्व चयनमा धेरै दिन लागेको हो ।

बन्दसत्रको हलले अध्यक्ष मण्डललाई जिम्मेवारी दिएपछि पूरै कार्यसमिति सर्वसम्मत घोषणा गरिएको हो । अधिवेशन पुस २३ गतेदेखि सुरु भएको हो ।