
काठमाडौं । गैर आवसीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा १०औं महाधिवेशमा अध्यक्षका प्रत्यासी कुल आचार्यले प्रवासी नेपालीहरुका लागि नेपालमा विदेशी मुद्राको बैंक खाता (डलर एकाउन्ट) खोल्न पाउने एक दशक अघिको आफ्नो प्रस्तावले सार्थकता पाएको बताएका छन् ।
नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्तावलाई कार्यान्वयनमा ल्याउने प्रक्रिया अघि बढाएसँगै आचार्यले आफूले सन् २०११ मै एनआरएनए यूकेको अध्यक्ष रहँदा सरकार समक्ष राखेको प्रस्ताव एक दशक पछि भए पनि सार्थकता पाउने भएपछि विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुका लागि राहत मिल्ने बताए ।
सरकारले गैरआवासीय नेपालीलाई नेपालमै विदेशी मुद्रामा खाता खोल्न दिने नीति बनाएकोमा बधाई दिंदै यसलाई आफूले ऐतिहासिक र मत्वपूर्ण उपलब्धीका रुपमा लिएको प्रतिक्रिया पनि दिएका छन् । ‘गैरआवासीय नेपालीले नेपालकै बैंकमा पैसा राख्न पाउँदा विदेशमा निर्व्याजी थन्किएको पैसाले यहाँ व्याज कमाउने छ । प्रारम्भिक फाइदा ब्याज आर्जनबाट हुनेछ । त्यसले देशलाई नेपालीको पैसा नेपालमै ल्याउन र नेपालको विकासमा लगानीमा फाइदा पुग्छ। व्याज पनि प्राप्त हुने, पैसाको पनि सुरक्षा हुने र राष्ट्रलाई पनि फाइदा पुग्ने यो नियम सबै गैर आवासीय नेपालीहरूका लागी सुनौलो अवसर हो,’ आचार्यले भने।
मन्त्री शर्माले एनआरएनहरुले विदेशी मुद्रामा नेपालमा खाता खोल्दा राष्ट्रमा लगानी र रोजगारी बढ्ने बताउँदै नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्न वर्षेनी अरबौं डलर लगानी आवश्यक पर्ने र त्यसको लागि लगानीकर्ताहरुलाई सेवा सुविधा दिनुपर्ने आवश्यक्ता रहेको पनि बताए । शर्माले एनआरएनए अभियन्ता आचार्यकै प्रस्तावर र समन्वयमा डलर एकाउन्ट खोल्ने नीतिलाई अघि सारिएको र सोही अनुसार प्रक्रिया अघि बढेको जानकारी पनि दिए ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले छोटो समयमै यो नियम ल्याइएको बताए। उनले यसअघि रहेको १०,०० डलरलाई घटाएर ५,००० डलर पुराएको र उही वर्षलाई घटाएर एक वर्ष गरेको बताए । केही बैंकहरुले विदेशी मुद्रामा खाता खोल्न शुरु गरिसकेको र यो प्रावधान विदेशमा हुर्की रहेको दोश्रो पुस्तलाई नेपालसंग जोड्ने मध्यम बन्ने आशा पनि व्यक्त गरे। उनले कार्यान्वयनका क्रममा केही समस्या आएमा त्यसलाई तत्काल सम्बोधन गरिने बताए। अर्थ सचिव मधु मरासिनीले यसभन्दा पहिला पनि डलरमा खाता खोल्न पाउने गरेको जानकारी दिंदै तर यस पटक सरकारले त्यसलाई सहजीकरण गरेको बताए।
के हो डलर एकाउन्ट ?
गैरआवासीय नेपालीहरुले गैरआवासीय नागरिकता र नेपालमा सम्पत्तिमाथिको अधिकारलाई मुख्य मागका रुपमा उठाइरहेको सन्दर्भमा विदेशमा कमाएको सम्पत्ति सुरक्षाका लागि डलर एकाउन्ट खोल्न पाउने अधिकार कार्यान्वयनमा आएसँगै प्रवासीहरुले एक महत्वपूर्ण उपलब्धी हासिल गरेको दाबी गरिएको छ । सम्पत्तिमा स्वामित्व स्थापित हुन नसक्दा गैर आवसीयहरुले नेपालमा खुलेर लगानी गर्न नसकेको, नेपालमा रहेको पैतृक सम्पत्ति पनि बेचबिखन गरेर विदेश लैजाने क्रम बढेको, अवैध बाटोबाटै नेपाली सम्पत्ति बाहिरिने भएकाले आफूले एक दशक अघि नै डलर एकाउन्टको व्यवस्थाका लागि सरकारलाई दबाब दिंदै आएको आचार्यको भनाइ छ ।
नेपालले आर्थिक समृद्धि हासिल गर्न सबैभन्दा पहिले नेपालमा पुँजी लगानी आवश्यक रहेकाले त्यसको सुरक्षा मात्रै नभइ प्रतिफल सुनिश्चितताका लागि पनि यो एकाउन्ट आवश्यक रहेको बताइन्छ । गैर आवसीय नेपालीहरुले विदेशी बैंकमा राखेको पैसालाई त्यहाँका बैंकहरुले व्याज समेत नदिने भएकाले अर्थ मन्त्रालयले यस सम्बन्धी नीति नै बनाएर पारित गरेपछि राष्ट्र बैंकले पनि प्रक्रिया अघि बढाएको थियो । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा पनि यसलाई समावेश गरेपछि विदेशमा रहेका नेपालीले अब नेपाली बैङ्कमा डलर खाता खोल्न पाउने आधार बनेको हो ।
राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको त्रैमासिक समीक्षाको ६८ नम्बर बुँदामा भनिएको छ, ‘गैरआवासीय नेपाली तथा गैरआवासीय नेपाली संलग्न विदेशी संस्थाहरूबाट विदेशी मुद्रामा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गरिनेछ ।’ यो व्यवस्थाले व्यक्ति मात्रै नभई गैरआवासीय नेपाली संलग्न विदेशी कम्पनीबाट समेत खाता खोली पैसा जम्मा गर्न सकिने अभियन्ता आचार्यले जानकारी दिएका छन्।
कसलाई के फाइदा ?
डलर एकाउन्ट खोल्न पाउने नीति बनेपछि गैर आवसीय नेपालीलाई नागरिकताको मुद्दा अघि बढाउने प्रतिबद्धता जनाउँदै सल्लाहकार आचार्यले यो नीतिले अनेकौं फाइदा लिन सकिने बताए । गैरआवासीय नेपालीले नेपालकै बैंकमा पैसा राख्न पाउँदा विदेशमा निब्र्याजी थन्किएको पैसाले ब्याज कमाउने साथै प्रारम्भिक फाइदा ब्याज आर्जनबाट हुने जानकारी दिए । त्यसले देशलाई नेपालीको पैसा नेपालमै ल्याउन र नेपालको विकासमा लगानीमा फाइदा पुग्ने साथै बचतकर्तालाई पनि यसले फाइदा पुर्याउने उनको भनाइ छ । त्यतिमात्र नभइ गैरआवासीय नेपालीलाई पनि खाता खोली निक्षेप जम्मा गर्न दिएमा बैंकमा देखिएको तरलताको अभाव कम हुने उनको विश्वास छ । त्यस्तै बैंकले चाहेको आयोजनामा लगानी गर्न, उत्पादनमूलक क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना गर्न सहज हुने आचार्यको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्