
काठमाडौं । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंमा तरुलको व्यापार बढेको छ ।
काठमाडौंको कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा गत वर्षको तुलनामा तरुलको व्यापार बढेको व्यापारीहरू बताउँछन् ।
सर्लाहीबाट तरुल ल्याएर बिक्री गरेका व्यापारी रामबाबु साहले तरुलको मूल्य प्रतिकेजी ७० रुपैयाँ रहेको जानकारी दिनुभयो । गत वर्षभन्दा यस वर्ष तरुलको व्यापार बढे पनि मूल्य भने नबढेको साहको भनाइ छ ।
यता, चितवनबाट ल्याइएको रातो तरुल भने प्रतिकेजी १ सय ५० रुपैयाँ सम्ममा बिक्री भइरहेको व्यापारी ईश्वर ढकालले बताउनुभयो । रातो तरुल राम्रो हुने भएकाले यसको मूल्य अन्य तरुलको भन्दा बढि भएको उहाँको भनाइ छ ।
व्यापारीहरूका अनुसार यस वर्र्ष काठमाडौंमा सर्लाही र चितवनको तरुल बढि भित्रिएको छ । ग्राहकहरूले पनि सस्तो मूल्य हुने भएकाले कालिमाटी बजारबाटै तरुल खरिद गर्ने गरेको बताएका छन् ।
ललितपुरकी मुना थापाले सस्तोमा पाइने भएकाले तरुल खरिद गर्न कालिमाटी आएको बताउनुभयो ।
अघिल्लो वर्ष कोरोनाका कारण तरुलको व्यापार घटेको थियो भने मूल्य केही बढेको थियो । माघे संक्रान्तिमा तरुल खाने नेपाली प्रचालन छ । पोषणविद्हरूका अनुसार तरुलले शरीरलाई फाइदा पुर्याउँछ ।
प्रतिक्रिया दिनुहोस्