
काठमाडौं । भारतमा कोरोना संक्रमितहरुको संख्या दिनपरदिन बढ्दै गएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ९४ हजार ७ सय बढीमा संक्रमण पुष्टि भएको छ ।
गत सोमबारको तुलनामा मंगलबार भारतमा संक्रमितको संख्या २६ हजार ६५७ ले बढेको हो । सोमबार भारतमा थपिने नयाँ संक्रमितको संख्या एक लाख ६८ हजार ६३ थियो । त्यसैगरी पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण ४ सय ४२ जनाको मृत्यु भएको छ ।
भारतमा अहिले सक्रिय संक्रमितको संख्या ९ लाख ५५ हजार ३१९ रहेको छ । दैनिक संक्रमण दर ११.०५ प्रतिशत रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ ।
भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको कूल संख्या ४ हजार ८ सय ६८ पुगेको छ । कोराना महामारी नियन्त्रणका लागि भारतमा साताको दुई दिन कर्फ्यू आदेश जारी गरिएको छ भने रात्रीकालीन कर्फ्यू पनि लागू गरिएको छ । बिद्यालय र कलेज बन्द गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्