१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दलहरूमा कोरोनाको संकट : निर्धारित कार्यक्रम प्रभावित, शीर्ष नेताहरू नै संक्रमित


221
Shares

काठमाडौं । विश्व समुदायमा कोरोनाको तेस्रो लहर सुरु हुँदै गर्दा सरकारले गत असोज १५ पछि नेपालमा पनि कोरोनाको तेस्रो लहरले संकट उत्पन्न गराउन सक्ने प्रक्षेपण गरेको थियो ।

बेलैमा स्वास्थ्य मापदण्ड सहित उच्च सर्तकता अपनाउनुपर्ने आलर्मको घण्टी बजिसकेको थियो । प्रमुख राजनीतिक दलहरूका लागि स्वास्थ्य मापदण्ड अपनाएर भए पनि जतिसक्दो चाँडो महाधिवेशनबाट नेतृत्व चयन गर्नुपर्ने चुनौती थपिएको थियो ।

तर, दलहरू तामझामका साथ जनसागर नै ओरोलेर महाधिवेशन गर्दा सामान्यतया स्वास्थ्य मापदण्ड समेत अपनाउन चुक्न पुगे । जसले गर्दा यतिबेला दलका केही शीर्ष नेताहरू संक्रमणबाट अछुतो बन्न नसकी होम आइसोलनमा थलिन बाध्य बनेका छन् ।

गत मंसिरमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले चितवनमा सम्पन्न गरेको महाधिवेशनमा जनसागर ओर्लिदा सामान्यतया स्वास्थ्य मापदण्ड अपनाइएको पाइएन । कोरोनाको तेस्रो लहरले छपक्कै छोपी नसकेको मौकामा एमालेले महाधिवेशन सम्पन्न त गर्यो तर संक्रमण बढाउने सवालमा कहि न कहिँ भूमिका बढाएको थियो ।

त्यसलगत्तै राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) र प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले पनि काठमाडौंको अस्तव्यस्त भीडभाडकाबीच महाधिवेशनबाट नेतृत्व चयन गर्यो । महाधिवेशनको शिलशिला माओवादी केन्द्रसम्म आइपुग्दा कोरोना संक्रमणले उपत्यकामा बादल झैँ मडारिसकेको थियो ।

सुरुमा तामझामको नाटक मञ्चन नगरी राष्ट्रिय सम्मेलन गर्ने बताएको माओवादीले अन्ततः राष्ट्रिय महाधिवेशन सम्पन्न त गर्यो तर शीर्ष नेतासहित कार्यकर्तालाई एकाएक संक्रमण देखिन थालेपछि उसका लागि महाधिवेशन गलत समयको भागिदार बन्न पुगेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठलाई संक्रमण पुष्टि हुँदा उसले आफ्नो पूर्वनिर्धारित केन्द्रीय समितीको बैठक सारिसकेको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्षका अध्यक्ष माधवकुमार नेपाललाई पनि कोरोना संक्रमण पुष्टि भएसँगै उसले पनि पनि सभा, सम्मेलन जस्ता धेरै व्यक्ति उपस्थित हुने कार्यक्रम स्थगित गरेको छ ।

यता गत शुक्रबारबाट केही जिल्लाबाहेक देशभर एकसाथ जिल्ला अधिवेशन गरेको नेकपा (एमाले)ले पूर्वनिर्धारित प्रदेश अधिवेशन सारेर आगामी माघको अन्तिम तिर गर्ने निर्णय गरिसकेको छ । पुसको मध्य महिनापछि दिनानुदिन संक्रमणको गतिले कोलाहल मच्चाउन सक्ने संकेत देखाइदिएको छ ।

गत सोमबार सिसिएमसीसी देखि उपत्यकाका सिडिओहरूले सार्वजनिक स्थानमा २५ जना बढि भेला गर्न रोक लगाइदियो । तर, २४ घण्टा बित्न नपाउँदै सरकारी निर्णयको धज्जी उडाउन उच्च पदस्थ व्यक्तित्वलाई कुनै कानुनले छेक्न सकेन ।

सिंहदरबारस्थित नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पूर्वराजा देखि राष्ट्रपति पुग्दाको भीडभाडले स्वास्थ्य मापदण्डको धज्जी उडेको छ । पहिलो र दोस्रो लहरको कोरोनाले स्वास्थ्य मापदण्ड जुनैबेला पनि अपनाउनुपर्ने पाठ सिकाएकोमा कुनै मतभिन्नता नहोला ।

स्वास्थ्यप्रति संवेदनशील हुन हामीले सामान्यता स्वास्थ्य मापदण्ड अपनाए महामारीबाट सजिलै जोगिन सकिन्छ । त्यसैले पनि स्वास्थ्यप्रति सबै संवेदनशील हुन आजको अपरिहार्यता देखिन्छ ।