३ चैत्र २०८१, आइतबार | Mon Mar 17 2025


शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ६ महिना पूरा

६ महिनाको कार्यकाल शिथिल र उपलब्धीबिहिन

169
Shares

काठमाडौं । शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री बनेको ६ महिना पूरा भएको छ । सर्वोच्च अदालतको परमादेशबाट देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दा उल्ट्याउँदै सर्वोच्च अदालतले विपक्षी गठबन्धनका नेता देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश दिएको थियो ।

प्रधानमन्त्री देउवाको ६ महिनाको कार्यकाल भने शिथिल रुपमा बितेको छ । तीन महिना मन्त्रिपरिषद विस्तार समेत गर्न नसक्नुभएका प्रधानमन्त्री देउवाले यस बीचमा दैनिक प्रशासन चलाउने भन्दा कुनै उल्लेख्य काम गर्नुभएको छैन ।

महामारी नियन्त्रणका लागि खोप, खोप, खोप अभियान भनेको देउवा सरकारले त्यही खोप अभियानलाई समेत तिब्रता दिन असफल भएको छ । सरकार बनेको झण्डै एक महिनापछि साउन २४ मा घोषणा गरिएको न्यूनतम साझा कार्यक्रम पनि अलपत्र अवस्थामा छ ।

प्रमुख प्रतिपक्षीको अवरोध खुलाउन नसक्दा महत्वपूर्ण विधेयकहरु समेत अघि बढ्न सकेका छैनन भने अमेरिकी सहयोग सम्झौता एमसीसी पनि अलपत्र अवस्थामा छ । बरु देउवा कार्यकालका पछिल्ला दिनहरुमा न्यायिक क्षेत्र अस्थिर र आन्दोलित अवस्थाबाट गुज्रिएको छ ।

६ महिनाको अवधिमा देउवा बेलायतको स्कटल्याण्डमा आयोजित विश्व जलवायु सम्मेलनमा जानुभयो भने यही पुस २५ गतेदेखि भारत भ्रमण जाने कार्यक्रम भने अचानक रद्द भएको छ ।