
काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।
बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा हिजो जारी गरेको प्रतिवेदनमा सन् २०२२/०२३ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने अनुमान गरिएको छ ।
महामारीबाट बच्न खोप लगाउने जनसंख्यामा बढोत्तरीसँगै कृषि उत्पादकत्वमा हुने वृद्धि र सेवा क्षेत्रमा देखिएका केही सुधारका आधारमा बैंकले चालु आर्थिक बर्षमा नेपाल ३ दशमलब ९ प्रतिशतमा संकुचित हुने प्रक्षेपण गरेको हो ।
कोभिड–१९ को महामारीले निम्त्याएको नयाँ जोखिम, मुद्रास्फीति, ऋण र असमानतामा वृद्धिबीच दक्षिण एशियाका उदीयमान र विकासशील अर्थतन्त्र पुनः मन्दितर्फ उन्मुख भएको प्रतिवेदनले औंल्याएको छ ।
महामारीभन्दा अघिको अवस्थामा फर्कने क्रममा रहेका केही दक्षिण एशियाली देशको अर्थतन्त्र कोभिड–१९ को अर्को लहरले प्रभावित हुने जोखिम बढाएको जनाइएको छ ।
सन् २०२१ को मध्यतिर कोभिडको दोस्रो ठूलो लहरले विश्वअर्थतन्त्रमा विशाल आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै प्रतिवेदनमा सन् २०२३ सम्म नै विश्वअर्थतन्त्र शिथिल रहने प्रक्षेपण गरिएको छ ।
सार्क मुलुकमध्ये श्रीलंका, पाकिस्तान र नेपाल सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकमा रहने विश्व बैंकको अनुमान छ । यो वर्ष सार्क मुलुकमध्ये सबैभन्दा राम्रो आर्थिक वृद्धिदर माल्दिभ्सले गर्नेछ । यसको ११ प्रतिशतको वृद्धि प्राप्त हुनेछ ।
दोस्रो स्थानमा भारत छ । भारतले ८ दशमलब ३ प्रतिशतको वृद्धिदर हासिल गर्नसक्ने विश्व बैंकको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्