
बकाठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडका कार्यकारी प्रमुख अर्जुनकुमार गौतमले जलविद्युत्को क्षेत्रमा एचआईडिसीएलले सक्दो लगानी गर्ने बताउनुभएको छ ।
संखुवासभास्थित अपर अरुण आयोजना अत्यन्तै सस्तो आयोजना भएको भन्दै एचआईडिसीएलले यो आयोजना जनताकै लगानीमा बन्नुपर्ने बताउनुभयो ।
जलविद्युत्को क्षेत्रमा लगानी गर्ने यो संस्थाले जलविद्युत्को क्षेत्रमा अध्ययन र लगानीसमेत गर्दे आएको छ । अपर अरुण आयोजनाको अध्ययन विश्व बैंकले गरिरहेको स्मरण गराउँदै उहाँले विश्व बैंकलाई सुम्पिएको खण्डमा १०–१५ अघि आयोजना निर्माण हुन नसक्ने जिकिर गर्नुभयो ।
जलस्रोतविद् समेत रहेका गौतमले आयोजना अध्ययन मात्र भइरहने र नबन्ने परिपाटी नेपालमा रहेको भन्दै जनताको पानी जनताकै लगानी भन्ने सरकारी निर्णय अनुसार अपर अरुण बन्नुपर्नेमा जोड दिनुभयो ।
अपर अरुण आयोजना जनताकै लगानीमा बन्न सक्ने गौतमले बताउनुभयो । सस्तो आयोजना र क्षति कम हुने आयोजना भएका कारण सबैले यो आयोजना बनाउन खोजेको उहाँको भनाइ थियो ।
आयोजना निर्माणका लागि आर्थिक समस्या रहेको भनेर भ्रम छर्ने प्रयास भइरहेको भन्दै उहाँले बजार टन्नै पैसा रहेको बताउनुभयो ।
‘यो आयोजना नेपाली बित्तीय स्रोतबाट बन्न सक्छ भन्ने सन्देश जनतालाई दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘अपर अरुण आयोजनाको लागि ६ वर्षभित्र २ खर्ब जुटाउन सकिन्छ, बजारमा पैसा छ ।’
अपर अरुणलाई ए्रउटा जिल्लाको मात्र सीमित नगरी प्रदेश–१ सरकारको गौरवको आयोजनाको रूपमा अघि बढाउन सुझाव दिनुभयो । आयोजना तामाकोशी मोडलमा बन्न सक्ने उहाँको भनाइ छ ।
स्थानीय सरकारसँग पर्याप्त बजेट भएकाले पनि स्थानीय तहसँगको समन्वय आवश्यक रहेकोमा गौतमको जोड छ । प्रदेश–१ को आर्थिक विकासको ढोका खोल्ने आयोजना भएकाले सबैको चासो हुनुपर्नेमा उहाँको भनाइ छ ।
प्रमुख गौतमले स्थानीय जनतालाई अपन्वत्व हुने गरी जनतालाई सेयर दिनुपर्ने बताउनुभयो । संखुवासभावासी र आयोजना प्र्रभावित क्षेत्रका स्थानीयको आवाजलाई सम्बोधन गर्नुपर्ने र आयोजनाबारे बुझाउनुपर्नेमा उहाँको जोड छ । आयोजनाबाट संखुवासभा, भोजपुर र धनकुटाको केहि भाग प्रभावित हुनेछ ।
गौतमले स्थानीय स्रोत र साधन जनशक्ति परिचालन गर्नुपर्ने र योग्यता क्षमता अनुसार रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो । आयोजनालाई विश्व बैंकबाट जनताको पहुँचमा ल्याउनुपर्ने र सबैको पहुँचमा पुर्याउनुपर्ने उहाँको भनाइ छ ।
गौतमले जनताको लगानीमा अघि बढे एक वर्षभित्र आयोजनाको सुरुवात हुने तर्क गर्नुभयो । तामाकोशी नेपाली लगानी, प्रविधि र जनशक्तिबाट बनेको आयोजना भएकाले स्मरण गर्दै उहाँले त्यस्तै प्रकृतिको अर्को आयोजना बनाउन असम्भव नभएको जिकिर गर्नुभयो ।
आयोजनामा स्थानीयको सहभागिता लगानीमार्फत उनीहरूको जीवनस्तर सुधार्न मद्दन पुग्ने कार्यकारी प्रमुख गौतमले बताउनुभयो । आयोजना कुन मोडालिटी अनुसार बन्ने सम्बन्धमा स्थानीय जनता, जिल्लाबासी, प्रदेश–१, स्थानीय तह सबैलाई सहभागिता गराउने र नेपाल विद्युत प्राधिकरण, सञ्चयकोष, नागरिक लगानी कोष, इपान, एचआईडिसिएल जस्ता लगानीकर्ताको सहभागिता हुनु जरुरी रहेको उहाँको भनाइ छ ।
नेपाल विद्युत प्राधिकरणको अगुवाइमा एसपिभि गठन गरेर समग्र रूपमा आयोजनालाई अगाडि बढाउन सकिने प्रमुख कार्यकारी प्रमुख गौतम बताउनुहुन्छ । ‘१४ वर्षअघि परिकल्पना गरिएको तामाकोशी आयोजना सम्पन्न भएको उदाहरण छन्, हामी किन नसक्ने ?’ उहाँले भन्नुभयो, ‘हामी आफैँ बनाउन सक्छौं भनेर जनतालाई सन्देश दिनुपर्छ ।’
आयोजना निर्माढा गर्दा स्थानीय जनताको अधिकार, रोजगारी सिर्जना, स्रोत साधनको उपयोग, उत्पादनको वितरणमा सहुलियत, बजारीकरण, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रलाई प्राथमिकता राख्नुपर्ने कार्यकारी प्रमुख गौतमको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्